अस्ट्रेलिया कर्मथलो बनाएका रुपन्देहीका माधव न्यौपानेले गीति कथा ‘कठै म त’ रिलिज गरेका छन्।
मङ्गलबार राष्ट्रिय नाच घरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले गीति कथा ‘कठै म त’को रिलिज गरिन्।
एमएम इन्टरटेनमेन्ट एन्ड इभेन्टको प्रस्तुतिमा सार्वजनिक गीति कथामा खुमन अधिकारीको सङ्गीतमा अधिकारीसँगै देवी घर्ती मगर, शान्ति श्री परियार र सुनीता बुढा क्षेत्रीको स्वर रहेको छ।
गीति कथामा लक्ष्मी गिरी, गौरव पहाडी, सिरु विष्ट, विशाल पहाडी, मोहन खड्का, सरिता धनकुटी, स्वस्तिका लामिछाने, विपना घिमिरे, विनिराम न्यौपाने, दिपसागर, विराज सापकोटालगायतको अभिनय छ।
टेकेन्द्र शाहको सम्पादन रहेको गीति कथाको भिडिओमा करण चैसर र काश गुरुङले छायाङ्कन गरेका हुन्। न्यौपानेकै कथा, निर्माण र निर्देशन रहेको भिडिओमा मनोज केसीको न्यारेसन रहेको छ। टौवा क्रियसनले पब्लिसिटी डिजाइनमा भूमिका खेलेको छ।
निर्मला हत्याकाण्डपछि सिर्जित कथा र गीतमा बलात्कार र सजायलाई मूलभूत रूपमा उठान गरिएको छ।
रिलिज कार्यक्रममा भिडिओ हेर्दै गर्दा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगर भावुक बनिन्। भिडिओमा उतारिएको कथाले आफूलाई छोएको भन्दै उनले बोल्ने क्रममा अनुभूति साटिन्।
‘महिलामाथि हुने गरेको हिंसालाई न्यूनीकरणको ध्येयले निर्माण गरिएको गीत र कथाले सामाजिक सन्देश बोकेको महसुस गरेँ। यो भिडिओ धेरैभन्दा धेरै दर्शकको माझमा पुग्न सक्यो भने चेतना प्रवाहमा टेवा पुग्दछ’ उनले भनिन्।
कलाकारसमेत रहेका रमेश प्रसाईँले छोरीहरू असुरक्षित हुनुपर्ने समाज परिवर्तनको चाहना बोकेर आफूहरू राजनीतिमा होमिएको बताए। उनले भने, ‘छोरी र छोरालाई दिने संस्कारका कारण पनि महिलामाथिको हिंसा बढिरहेको छ। अभिभावकले दिने शिक्षालाई समान रूपमा अघि बढाउन सके मात्रै घटनाहरूमा कमी ल्याउन सकिन्छ।’
सर्जक न्यौपानेले निर्मला हत्याकाण्डले आफूलाई मर्माहत पारेको र त्यसै बेलादेखि कथाको बीजारोपण भएको बताए। उनले लामो कसरतपछि भिडियो रिलिज गर्न सफल भएको बताए। यो गीति कथा तयार हुन ७ वर्ष खर्चेको न्यौपानेको भनाइ छ।
'सामाजिक कथामा गीत र भिडियो निर्माण गरेका छौँ। लगानी पनि ठूलो छ, धेरै वर्ष खर्चिएको छु। २६ मिनेट लामो भिडियो तयार पारेका छौँ,' उनले भने, 'महानायक राजेश हमाल राखेर भिडिओ निर्माण गरिएको थियो। निर्देशकको काम मन नपरेपछि त्यसलाई डिलिट गरेर अर्को सेटमा काम गरेका हौँ।’
दोस्रो भिडिओसम्म आउँदा २५ लाख रुपैयाँ खर्च भएको निर्माता समेत रहेका न्यौपानेको दाबी छ।
रिलिज कार्यक्रममा वरिष्ठ कलाकार लक्ष्मी गिरी, अभिनेता गौरव पहाडी, गायिका शर्मिला गुरुङ, गायक खुमन अधिकारी, गायिका देवी घर्ती मगर, शान्ति श्री परियार, सुनिता बुढा क्षेत्री, कलाकार स्वस्तिका लामिछाने, सरिता धनकुटीलगायतले गीति कथाको विषय र सन्देशबारे धारणा राख्दै सफलताको शुभकामना दिए।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले गीति कथा मार्मिक बनेकाले सामाजिक चेतना प्रवाहको अस्त्र बन्ने विश्वास लिए।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष हरिप्रसाद दुलालले लोकसंगीतले समाजको कथा बोल्ने भन्दै यसखाले सहकार्यका लागि संस्था सधैँ तयार रहेको बताएका थिए।
Shares

प्रतिक्रिया