पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानलाई राम्रो भन्न नसकिने बताएका छन्।
नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन्। संविधान राम्रो भएको भए जनतामा सन्तुष्टिको मात्रा बढ्ने उनको निष्कर्ष थियो।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानले राम्रो नतिजा नदिएकै कारण जेन–जी पुस्ताले आन्दोलन गर्नुपरेको जिकिर समेत गरे। आम जनताले संविधानको लाभ भोग्न नपाएको उल्लेख गर्दै उनले असन्तुष्टि समेत व्यक्त गरे।।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने,‘यो संविधान राम्रो र नराम्रो कार्यान्वयन कसरी हुन सक्दछ? नतिजा आउँदै नआउने संविधान कसरी हुन सक्दछ? राजनीति विशिष्ट खालको र सुशासन निकम्मा खालको कसरी हुन सक्दछ? यदि संविधान राम्रो हो भने यसको नतिजा त आउँथ्यो त। जनताको सन्तुष्टिको मात्रा त बढथ्यो त। यस्तो आन्दोलन गर्नुपर्ने अवस्था आउँदैनथ्यो त। नतिजाहरु आएनन्। के देखाउने हो र मान्छेहरू यसको लाभहरू भोग्न चाहन्छन्। पाएन भने पाएनन् भन्न पाउनुपर्छ। यसरी भन्नुपर्ने अवस्थामा आयो यो। जेन–जी पुस्ताले देशप्रति देखाएको मायाको हामीले सम्मान गर्नुपर्दछ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेन–जी आन्दोलन देशप्रति माया गर्नेहरूले गरेको उल्लेख गर्दै त्यसको सम्मान गरेर अघि बढ्नुपर्ने समेत बताए।
Shares

प्रतिक्रिया