नेपाली समाज टेक्सस (एनएसटी) को आगामी निर्वाचनका लागि किरण पौड्यालले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।
नयाँ नेतृत्वका लागि एनएसटीको निर्वाचन आगामी डिसेम्बर १३ मा हुँदै छ।
निर्वाचनमा संस्थाका सदस्यहरूले मात्र मतदान गर्न पाउने छन्। त्यसका लागि नोभेम्बर १५ भित्र सदस्यता लिइसक्नुपर्ने छ।
निर्वाचनमा पौड्यालको उम्मेदवारीसँगै नेपाली समाजमा चर्चा चल्न थालेको छ। उनलाई अमेरिकाकै चर्चित संस्था प्रवासी नेपाली मञ्च टेक्ससको र टेक्ससमा रहेका अन्य थुप्रै संस्था, मन्दिर, गुम्बा, चर्च तथा युवाहरूको समर्थन छ।
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अभियन्ता एनएसटीका पूर्वउपाध्यक्ष तथा वर्तमान प्रवक्ता पौड्यालले स्वयंसेवकका रूपमा काम गरिसकेका छन्। आफूले एनएसटीको गरिमा र लक्ष्यमा विचलित नभई काम गरिरहेकाले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए।
लामो समयदेखि समाजसेवा, सांस्कृतिक प्रवर्द्धन र संस्थागत सुदृढीकरणमा सक्रिय पौड्याललाई समुदायले जिम्मेवार नेतृत्वको प्रतीकका रूपमा हेरिरहेको छ। पौड्याल सन् २०१३ देखि नेपाली समाज टेक्ससमा सक्रिय छन्।
उनले नेपाली समाज टेक्ससका तर्फबाट समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिलाई समेट्दै प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँग भेटेर डलासमा नेपाली महावाणिज्यदूतावास स्थापनाका लागि पहल पनि गरेका थिए।
सन् २०१३ मा अमेरिका जानुभन्दा अघि पौड्याल फिल्म निर्माणमा सक्रिय थिए। पत्रकारिताबाट करिअर सुरु गरेका उनले डकुमेन्ट्री र फिल्म निर्माण यात्रालाई निरन्तरता दिए। दासढुंगा, गुडबाई काठमाडौँलगायत फिल्मका सहनिर्माता पौड्याल नेपाल-अमेरिका फिल्म सोसाइटीका संस्थापक उपाध्यक्ष हुन्।
Shares

प्रतिक्रिया