कला


सिक्किमको ‘ऊनको स्वीटर साँझ’ मा हजारौं दर्शकमाझ गुञ्जिए सुजन

सिक्किमको ‘ऊनको स्वीटर साँझ’ मा हजारौं दर्शकमाझ गुञ्जिए सुजन

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १२:४९, काठमाडौँ

शुक्रबार भारतमा रिलिज हुन लागेको नेपाली चलचित्र  ‘ऊनको स्वीटर’ को प्रचार-प्रसारका लागि निर्माण टिम सिक्किममा छ। बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा ‘ऊनको स्वीटर साँझ’ आयोजना गरिएको थियो। जहाँ गायक सुजन चापागाँईलाई सुन्न हजारौं दर्शकहरूको उपस्थिति रह्यो। 

कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली चलचित्रप्रति भारतका नेपाली भाषी समुदायको आकर्षण झल्किएको थियो। कार्यक्रममा गायक चापागाईँले चलचित्रका गीतहरू प्रस्तुत गर्दै वातावरण रोमाञ्चक बनाए।

उनीसँगै नेपालबाट गएका अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, सङ्गीत निर्देशक कोविद बज्र, छायाङ्कन निर्देशक चिन्तन राजभन्डारी, कार्यकारी निर्माताहरू मिलन खत्री र सागर बुढाथोकीलगायत टिमका सदस्यहरू उपस्थित थिए।

सिक्किम र दार्जिलिङ क्षेत्रका चर्चित कलाकारहरूसमेत कार्यक्रमको आकर्षण बने। अनमोल गुरुङ, प्रकाश क्षेत्री, सिम्रन गुरुङ, रिको लामा, र्‍यापर देवा, सोनम ओङ्मु इथेन्पालगायतका कलाकारहरूले आफ्ना प्रस्तुति दिए। त्यस्तै, अमृता राईले चलचित्रको चर्चित गीत ‘काफ्ले’मा नृत्य प्रस्तुत गरिन् भने नेपालबाट गएका नर्तक सुरज सिंहजाली मगरले ‘चाइनेजो जिन्दगानी’मा प्रस्तुति दिए।

‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीका प्रमुख हलहरूमा रिलिज हुँदैछ। यसअघि भारतको सेन्सर बोर्डबाट पास भइसकेको चलचित्रलाई एसली प्रोडक्सनले वितरण गर्दैछ। बिहीबार साँझ सिक्किममा विशेष प्रिमियर शो आयोजना गरिएको छ।

निर्देशक नवीन चौहानले नेपालमा जस्तै भारतमा पनि चलचित्रले उल्लेखनीय सफलता पाउने विश्वास व्यक्त गरे। वितरक एसली प्रोडक्सनका प्रमुख एवन राईले यो आफ्नो पहिलो प्रयास सफलताको दिशामा अग्रसर भएको बताउँदै आगामी दिनहरूमा भारतीय बजारमा नेपाली चलचित्रलाई नियमित रूपमा ल्याइने बताए।

सोही अवसरमा गायक सुजन चापागाईँले आगामी डिसेम्बर २३ मा गान्तोकमा ‘सुजन चापागाईँ एन्ड द इन्फिनिटी’ ब्यान्डको कन्सर्ट हुने घोषणा गरे।नेपालमा करिब १२ करोड रुपैयाँभन्दा बढी बक्स अफिस कमाई गर्दै वर्षकै चर्चित चलचित्र मध्ये एक बनेको ‘ऊनको स्वीटर’ले यथार्थपरक कथा, प्रभावशाली अभिनय र मन छुने सङ्गीतका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad