नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ ले ‘जेरी अन टप’ को रेकर्ड तोडेको छ। अनमोल केसी अभिनीत ‘जेरी अन टप’ लाई उछिन्दै ‘परान’ यसवर्षको सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।
आज सोमबार चलचित्र विकास बोर्डले तिहारदेखि रिलिज भएका फिल्महरूको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। मंसीर ६ गते रातिसम्मको तथ्यांकअनुसार ‘जेरी अन टप’ ले एक महिनाभर १२ करोड ९७ लाख ४८ हजारको व्यापार गरेको छ। ‘परान’ ले भने २३ दिनसम्म १४ करोड १६ लाख ५१ हजारको आकंडा पार गरेको हो।
‘जेरी अन टप’ गत असोज ३१ बाट रिलिज हुँदा ‘परान’ कात्तिक १४ गतेबाट हलमा प्रदर्शनरत छ। बलियो वर्ड अफ माउथ पब्लिसिटीका कारण चौथो सातामा पनि ‘परान’ ले दर्शकहरूको राम्रो साथ पाइरहेको छ।
‘जेरी अन टप’ को ३ लाख ८९ हजार ७२२ टिकट बिक्री हुँदा ‘परान’ का ४ लाख ९९ हजार १६८ टिकट टिकट बिक्री भएको देखिन्छ।
दीपक प्रसाद आचार्य (काकु) निर्देशन रहेको यस फिल्मले सुरूवाती दिनमा न्युन कमाइ गरेको थियो। प्रदर्शनको पहिलो दिन फिल्मले छ लाखको ओपनिङ गरेको थियो। तर, तीनरचार दिनपछि ‘माउथ पब्लिसिटी’ले गर्दा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिन थाल्यो।
यस फिल्ममा अभिनेता नीर शाह मुख्य भूमिकामा छ्न्। शाहसँगै फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ।
यो फिल्ममा चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी छ।
Shares

प्रतिक्रिया