कला


ओशाकाको कार्यक्रमसंगै सकियो नेपथ्यको जापान यात्रा

ओशाकाको कार्यक्रमसंगै सकियो नेपथ्यको जापान यात्रा

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १२:३३, काठमाडौँ

जापान शृङ्खलाको अन्तिम प्रस्तुति ओशाका सहरमा सोमबार सकिएसँग नेपथ्य स्वदेश फर्कंदै छ। तर प्रदर्शनस्थल ‘जेप ओशाका बे साइड’ मा यो ब्यान्ड दीर्घकालसम्मै रहनेछ। प्रदर्शनस्थल व्यवस्थापनले नेपथ्यको हस्ताक्षरसहितको सन्देश मागेको छ, जसलाई हलको ‘वाल अफ फेम’ मा राखिनेछ।

नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार आफ्नो स्थानमा आएर प्रस्तुति दिनेमध्ये गर्व गर्नलायक समूहलाई फ्रेमसहित भित्तामा सजाउने चलन विश्वभरिका हलहरूमा हुन्छ। उनी भन्छन्, ‘१३ वर्षअघि लन्डनको वेम्बली एरिनामा उपस्थित हुनु नेपथ्यका लागि एउटा मानक थियो भने विश्वप्रसिद्ध सहर अनि जापानकै आर्थिक महानगरको प्रतिष्ठित हलले यसरी सम्मान गर्नु ब्यान्डका लागि अर्को मानक भएको छ।’

हलका प्रबन्धक एन्डो नाओसीले नेपथ्यको कन्सर्टमा अद्भुत अनुभव गर्न पाएको सुनाए। ‘हामीकहाँ नेपालकै पनि अन्य धेरै कार्यक्रम आयोजना हुँदै आएका थिए,’ उनले भने, ‘तर नेपथ्यको आजको कन्सर्टमा देखिएको व्यापक सहभागिता, दर्शकको ऊर्जा र सबै गीतमा साथसाथै गाएर उनीहरूले प्रस्तुत गरेको आत्मीयताबाट म प्रभावित भएँ।’ 

ओशाकाको प्रस्तुतिसँगै लोकरक ब्यान्ड नेपथ्यले यस वर्षको शृङ्खलाबद्ध जापान यात्रालाई विश्राम दिएको छ। अघिल्ला दुई सहर नागोया र टोकियोजस्तै ओशाकामा पनि नेपथ्यको प्रस्तुतिलाई दर्शकको भव्य उपस्थितिले साथ दिएको थियो।

सोमबार बेलुकी ५ बजे ढोका खुलेपछि हलभित्र प्रवेश गरेका दर्शकले मञ्चमा कलाकार टोली देखिनासाथ चर्को आवाजसहित स्वागत गरेका थिए। टोलीले पहिलो गीत ‘हो रामा रामा’ प्रस्तुत गरेको थियो। 

कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले घरी नेपाल पुगेको बेला डाँडा–काँडाको यात्रा गर्न प्रेरित गरेका थिए भने घरी नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गरेका थिए।
उनले ‘यो जिन्दगानी’ गीत प्रस्तुत गर्नुअघि हाम्रो समाजिक परम्परा परोपकारी चरित्रको रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आह्वान पनि गरे। विदेशमा कमाएको थोरै पैसा जोगाएर भए पनि नेपालमा पढ्न नपाएका केटाकेटीलाई शिक्षाको उज्यालो घाम देखाइदिन उनले अनुरोध गरे।

कन्सर्ट हेर्न ओशाकाका मात्र नभई पर-परसम्मका दर्शक पनि उपस्थित भएका थिए। तिनैमध्येका एक थिए, अलिक परको ग्रामीण भेगबाट आएका रविन श्रेष्ठ।


‘जापानमा हामीले बाँचिरहेको जीवन, नेपाल अनि त्यहाँको कष्टकर अवस्थालाई जोड्ने गरी अमृत दाइले बोलेका कुरा असाध्यै प्रभावकारी लाग्यो,’ कन्सर्ट हेरिसकेपछि रविनले भने, ‘हेरुन्जेल नेपालै पुग्दाको जस्तो आनन्द आयो। शोबाट पर्याप्त सकारात्मक ऊर्जा पाएको महसुस भइरहेको छ।’

कन्सर्ट दुई घण्टासम्म निरन्तर चलेको थियो। अन्तिममा पुग्नै लाग्दा ‘गाउँ-गाउँबाट उठ’ गीतले दर्शकलाई जताततै उफार्‍यो। त्यो गीत सकिनासाथ अमृतले आह्वान गरे- ‘जेनजी आन्दोलनले गर्दा मुलुकमा संसद्को चुनाव मुखैमा आइपुगेको छ, तपाईंका नातागोता मात्र होइन, कुरा मान्नेहरू सबैलाई फोन गरेर यसपाला हाम्रालाई होइन, राम्रालाई भोट हाल्नुस् भनिदिनुस् है।’ 

दर्शकले चर्को आवाजसहित स्वीकारोक्ति जनाए। लगत्तैको ‘जोगले हुन्छ भेट’ गीतका क्रममा गितारवादक नीरज र दर्शकबीच रमाइलो संगम विकास भएको देखिन्थ्यो। पछि गायक अमृतले यस गीतको थालनी गर्दा सिङ्गो हल साथसाथै गाउने र नृत्य गर्ने तहमा पुग्यो।


सर्वाधिक लोकप्रिय ‘रेशम’ र ‘तालको पानी’ सम्म आइपुग्दा दर्शकको उल्लास चरम तहमा पुगेको थियो। त्यस ऊर्जालाई अन्तिम गीत ‘रातो र चन्द्रसुर्जे’ ले थप अघि बढायो।

हलभित्रका दर्शकमा जापानी अनुहार पनि देखिन्थे। तीमध्येका ओकुयामा सिगेकीले छोटो विश्लेषण पनि सुनाए, ‘जापानी दर्शकको हिसाबले मञ्च र दर्शकदीर्घाबीचको संवाद अनि गायकसँगसँगै सबैले गाउने शैली मलाई नौलो लाग्यो। छ सदस्यीय टोलीले परम्परागत वाद्ययन्त्रसहित यति विविधता प्रस्तुत गरेको पहिलोपटक देखेँ।’

चार वर्षअघि धरानबाट आई अध्ययन गरिरहेकी शिला देवानको अनुभव भने बेग्लै थियो। ‘एकातिर एउटै गीतमा तन्नेरी, अधबैँसेदेखि वृद्धसमेत नाचिरहेका देखिन्थे,’ उनले भनिन्, ‘अर्कातिर मञ्चमा कलाकारको आवाजभन्दा तल भएभरका दर्शकले गाइरहेको आवाज चर्को थियो। गजब लाग्यो।’

कार्यक्रममा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दीनेशराज रेग्मीले सघाएका थिए।

‘दर्शकको भव्य उपस्थिति र उनीहरूको उत्साह देखेर एकदमै सन्तुष्टि महसुस भइरहेको छ,’ आयोजक टोलीका पूर्ण गर्बुजाले प्रतिक्रिया दिए, ‘यो अवसर प्रदान गरिदिएकामा नेपथ्य र नेपालयप्रति आभारी छौँ।’


ओशाकाको कन्सर्ट सकिएसँगै नेपथ्यको जापान यात्राले यस वर्षका लागि विश्राम लिएको छ। नेपथ्य टोली अब नेपाल फर्कने तयारीमा जुटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad