सेलिब्रेटीहरू आफ्नो बैवाहिक समारोहलाई विशेष बनाउन कुनै कसर बाँकी राख्दैनन्। बिहेलाई भव्य बनाउन उनीहरू अनेक प्रयास गर्छन्। शनिबार भएको अभिनेत्री पूजा शर्माको बिहेमा केही रोचक दृश्यहरू देखियो, जसको कारण उनी अहिले निकै चर्चामा छन्।
शनिबार साँगाको एउटा पाँचतारे होटलमा पूजा शर्मा र युद्ध बानियाँको बिहे समारोह आयोजना गरिएको थियो। होटलबाहिर स्वयम्बर चलिरहेको थियो, जसकारण वरिपरि परिवार, आफन्त र चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति हुने नै भयो।
यो भव्य समारोहमा पूजा र युद्धले औंठी साटासाट गरे लगत्तै एकाएक आकाशमा हेलिकोप्टर देखियो। जहाँबाट सयपत्री फूलहरू खसालियो। हेलिकोप्टर सयपत्री फूलहरू खसालिएपछि सबै आकाशतिर हेरेर रमाए। क्यामेरा निकाल्दै फोटो र भिडिओहरू खिच्न थाले।
पूजा र युद्धको विवाह समारोहमा करिब चारपाँच मिनेटसम्म आकाशबाट पुष्पवृष्टि गराइयो। जुन भिडिओहरू यतिखेर टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

हुनत यसअघि पनि नेपाली सेलिब्रेटीहरूले आफ्नो विवाहमा हेलिकोप्टर प्रयोग नगरेका होइनन्। तर, हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको यो दृश्य भने नौलो बन्यो, जसकारण यसले धेरैको ध्यान खिचिरहेको छ।
हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएकोसहित पूजाको सारीले पनि दर्शकरहरूको ध्यान खिचिरहेको छ। नेपालमा प्राय: बेहुलीहरूले रातो सारी लगाउँछन्। तर, पूजाले गोल्डेन कलरको सारी लगाइन्। त्यसले धेरैको ध्यान तान्यो, खासगरी महिलाहरूको।
सायद, पूजाले बलिउड अभिनेत्रीहरूको कपी गर्दै यो पोशाक रोजेको हुनुपर्छ। किनकी पछिल्लो समय आलिया भट्ट, परिणिती चोपडा, कियारा आडवाणी लगायत अभिनेत्रीहरूले विवाहमा रातो सारी लगाएनन्। उनीहरू रातोको सट्टा गोल्डेन र बेबी पिंक रंगको लेहेंगामा विवाह समारोहमा देखिएका थिए।

गोल्डेन सारीमा पूजाले कपाल समेत छाडेकी थिइन्। जुन लुक्सलाई दर्शकहरूले मन पराएनन्। बिहेजस्तो विशेष दिन रातो रंगको सारी नलगाएको भन्दै उनको टिकाटिप्पणी पनि भइरहेको छ। यद्धपी, पूजाले बेहुलातर्फबाट आएको रातो सारी लगाएकी थिइन्। जुन अघिल्लो सारीभन्दा सुहाएको भन्दै तुलना समेत गरिरहेका छन् उनका फलोअरहरूले।
‘प्रेमगीत’ बाट चर्चामा आएकी पूजा प्राय: लाइमलाइटमा आइरहने कलाकारमा पर्छिन्। कहिले अभिव्यक्ति त कहिले प्रेमसम्बन्धका कारण उनी चर्चामा छाउँछिन्। जसकारण उनी धेरैपटक विवादमा पनि परिसकेकी छिन्।
पछिल्लो समय भने पूजाको चर्चा केही सेलाएको थियो। ‘प्रेमगीत’ सहित ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा राम्रै चले। त्यसपछिका फिल्महरूले खासै कमाइ गर्न सकेनन्। गतवर्षमात्रै उनले अभिनय गरेका बहुप्रतिक्षित फिल्महरूनै बक्सअफिसमा नराम्ररी चिप्लिए। ‘दान्भी’ मा उनी पहिलोपल्ट एक्सन अवतारमा देखिएकी थिइन्। तर, त्यस फिल्मले बक्सअफिसमा कमाल गर्न सकेन्।

भदौमा एक्सन जनरामै बनेको फिल्म ‘रावायण’ रिलिज भयो। यस फिल्ममा पूजासहित पल शाह मुख्य भूमिकामा थिए। यो फिल्म पनि फ्लप भयो। त्यसयता पूजाका कुनैपनि फिल्म रिलिज भएको छैन।
पूजा ६ वर्षदेखि युद्ध बानियाँसँग प्रेमसम्बन्धमा थिइन्। उनीहरू दुबैले ललितपुरको झम्सिखेलमा ट्याग रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। जेहोस् बिहेको समारोहका कारण भने पूजा एकाएक चर्चामा छाएकी छिन्। अहिले टिकटकदेखि सामाजिक सञ्जालसम्म पूजाकै बिहेको भिडिओहरू देख्न सकिन्छ।
Shares

प्रतिक्रिया