बलिउड अभिनेता अमिताभ बच्चनले बिहीबार निधन भएका आफ्ना मित्र अभिनेता ऋषि कपुरका बारेमा भावुक नोट लेखेका छन्।
क्यान्सर पीडित अभिनेता कपुरको बिहीबार बिहान निधन भएको थियो। यसको जानकारी अमिताभले सामाजिक सञ्जाल ट्टिरमार्फत दिएका थिए। पछि उनले सो ट्विट डिलेट समेत गरेका थिए।
बिहीबार राति इन्स्टाग्राममा लेखेको सो भावुक नोटमा अमिताभले ऋषि बिरामी भएको बेला अस्पतालमा भेट्न नजानुको कारणबारे खुलासा गरेका छन्। उनले कपुरको मुस्कानयुक्त अनुहारमा पीडा वा संकट देख्न नचाहेकै कारण आफू अस्पतालमा भेट्न नगएको बताएका छन्।
‘म उनलाई भेट्न कहिल्यै अस्पताल गइनँ। म कहिल्यै उनको मुस्कानयुक्त अनुहारमा कुनै पीडा वा संकट देख्न चाहन्नथेँ;, अमिताभले लेखेका छन्, ‘यो संसारबाट विदा माग्ने बेलामा पनि उनले मुस्कुराउँदै मुस्कुराउँदै मागेका थिए भन्ने कुरामा म विस्वस्त छु।’
अमिताभले ऋषिसँग भएका सुरुवातीदेखि अन्तिम भेटसम्मका बारेमा चर्चा गरेका छन्। अभिताभले कपुरको काम गर्ने तरिकादेखि हिँड्ने तरिकासम्मको चर्चा गर्दै उनले कपुर अरुभन्दा भिन्न भएको बताएका छन्।
‘अमर, अकबर अन्थनी’, ‘नसीब’ ‘कभी कभी’ र हालसालै ‘१०२ नट आउट’ जस्ता चलचित्रहरूमा चलचित्रमा उनीहरुले एकसाथ काम गरेका थिए।

प्रतिक्रिया