आउँदो माघ २३ गते सार्वजनिक हुने प्रेम कथानक फिल्म ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
पोस्टरमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले दुवैको प्रेमिल भाव र निकटतालाई प्रस्तुत गरेको छ।
‘क्लासिक लुक’मा रहेको पोस्टरमा प्रेम, पवित्रता र सरलताको सङ्केतको रूपमा सेतो टोनको पृष्ठभूमि प्रयोग गरिएको छ। पृष्ठभूमिमा प्रेमको तरङ्ग बुझाउने वेभहरू प्रयोग गरिएका छन्।
अभिषेक र आकृतिको हाँसो र एक–अर्काप्रति देखिएको आत्मीयताले कथावस्तु शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ। यस पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन्।
पोस्टर सार्वजनिकसँगै फिल्मको नयाँ गीत ‘तिमीविना’को रिलिज मिति पनि घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार यो गीत पुस ३ गते डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ।
यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल’को सफलतापछि नयाँ गीतप्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ। गायक केहरसिंह लिम्बू तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को स्वरमा रहेको यो गीत युट्युब र टिकटकमा विशेष गरी जेनजी पुस्तामाझ लोकप्रिय बन्दै गएको छ।
दिनेश राउत निर्देशित फिल्म आउँदो ‘भ्यालेन्टाइन डे’को आसपास रिलिज हुनेछ। फिल्मले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ।
यसमा नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक फिल्मबाट चिनिएका निर्देशक दिनेश राउत पछिल्ला वर्षमा ‘प्रसाद’, ‘प्रकाश’, ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित रहे पनि ‘कुमारी’मार्फत पुनः प्रेमकथामा फर्किएका हुन्।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको फिल्ममा निर्माता महेन्द्र अधिकारी हुन्। केदार भुसाल कार्यकारी निर्माता रहेको फिल्मको कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्।
Shares

प्रतिक्रिया