अभिनेत्री बेनिशा हमालले फिल्म वितरणमा हात हालेकी छन्। अभिनयसँगै उनी निर्माण, निर्देशन र वितरणमा सक्रिय हुन थालेकी हुन्।
बेनिशाको निर्देशनमा रहेको फिल्म ‘मिसिङ ब्राइड’ हालै युट्युबमा रिलिज भएको थियो। त्यस्तै, प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द ब्लू लाइट’ मा उनी कार्यकारी निर्माताको रुपमा छिन्।
यसै फिल्ममार्फत उनले डिजिटल अधिकार लिने कार्यको सुरुवात गरेकी हुन्। यसको थालनी बिहीबार रिलिज हुने तयारीमा रहेको ‘द ब्लू लाइट’ को टिजरबाट हुँदै छ।
बिहीबार फेसबुकमा स्टाट्स लेख्दै बेनिशाले आफ्नो फिल्म निर्माण कम्पनी मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत अबदेखि फिल्मको डिजिटल अधिकार लिन थालेको जानकारी दिएकी हुन्।
उनले लेखकी छन्, ‘२०२५ को अन्त्यसँगै म एउटा नयाँ यात्रातर्फ अगाडि बढ्दै छु। मेरो कम्पनी मौरी पिक्चर्समार्फत अब फिल्महरूको डिजिटल अधिकार लिन सुरु गर्ने निर्णय गरेकी छु। नयाँ सुरुवात सधैं अलमल र अनिश्चितताले भरिएको हुन्छ, तर त्यससँगै एउटा फरक उत्साह पनि हुन्छ। मलाई थाहा छ, यो यात्रा सजिलो हुनेछैन र रातारात सफलता पनि आउने छैन। तर म आशावादी छु, यो यात्राले मलाई धेरै कुरा सिकाउनेछ र फिल्ममेकिङको यात्रामा अझ अगाडि बढ्न मद्दत गर्नेछ।’
फिल्ममार्फत योगदान दिने आफ्नो दायित्व रहेको उनको भनाइ छ। उनी थप लेख्छिन्, ‘यस उद्योगमा लामो समय बिताउँदा मैले धेरै कुरा सिकेको छु र अब फिल्ममार्फत केही योगदान दिनु मेरो दायित्व पनि हो भन्ने लाग्छ। नयाँ यात्राले नयाँ चुनौतीहरू ल्याउँछ, तर यस घडीमा हजुरहरूको माया, समर्थन र प्रोत्साहनको अपेक्षा गर्दछु।’
Shares

प्रतिक्रिया