साधना घरमा ‘भट्टी टेल्स’ नाटक मञ्चन हुने भएको छ। जेम्स ढकालको लेखन तथा निर्देशनमा तयार भएको यो नाटक पुस १६ देखि माघ ३ गतेसम्म चल्नेछ।
लेखक तथा निर्देशक ढकालका अनुसार नाटकको कथा एउटा भट्टीको वरिपरि घुम्छ। ‘कथामा १३ जना पात्र छन्, दुई पात्र केन्द्रमा छन् । बाँकी चरित्रहरू उनीहरूको जीवनमा ठोक्किन आइपुग्छन्। भट्टीमा आउने मानिसलाई अक्सर जड्याहाका रुपमा मात्रै हेरिन्छ,’ उनी भन्छन्, ‘तर उनीहरू पनि आफ्नै जीवनका उतारचढावसँग जुधिरहेका पात्र हुन्। यस्ता पात्रहरू अक्सर बेवास्ता गरिएका हुन्छन्, भट्टी टेल्स तिनै बेवास्ता गरिएका पात्रहरूको कथा चित्रण गर्ने नाटक हो।’
यस नाटकमा सुदाम सिके, बेदना राई, रूपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, शुभम् गणेश, सुब्रत राज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, सुदिप एटी, थार्चेन लामाको अभिनय छ। अस्कर कलेजका १४औँ ब्याचका विद्यार्थी ढकालले यसअघि ढाकर नाटक निर्देशन गरिसकेका छन्। साथै उनले प्ले द सिस्टम, गिल्टी अर नट गिल्टीलगायत नाटकमा अभिनयसमेत गरेका छन्।
अस्कर कलेजको प्रस्तुति रहेको नाटक फ्र्याङ्क्लिन एजुकेसन कन्सल्टेन्सीको सहकार्यमा बनेको हो। नाटक तयार पार्न कथा घेराको पनि महत्त्वपूर्ण योगदान रहेको निर्देशक ढकालले बताए।
कमेडी ड्रामा विधाको यो नाटक मंगलबारबाहेक हरेक साँझ ५:१५ मा मञ्चन हुनेछ। शनिबारको दिन भने दिउँसो १ बजे अतिरिक्त समयमा मञ्चन हुनेछ।
Shares

प्रतिक्रिया