कलाकार, लेखक र निर्माता दीपकराज गिरीले नयाँ फिल्म बनाउने भएका छन्। उनले बनाउन लागेको फिल्म राजनीतिक कथावस्तु रहेको छ।
गिरीले सामाजिक सञ्जालमा एक सांकेतिक पोस्ट गर्दै आगामी फिल्मको कथावस्तुबारे संकेत गरेका हुन्। उनले आफू निर्वाचनमा उठ्ने उम्मेदवारको भूमिकामा देखिन लागेको जानकारी दिए।
यद्यपि, दीपकले फिल्मको नाम भने खुलाएका छैनन्। तर, उक्त पोस्टअनुसार उनको आगामी फिल्म राजनीतिक कथावस्तुमा आधारित हुने प्रस्ट हुन्छ।
समयक्रममा धेरैजनाले आफूलाई कांग्रेस, एमाले, राजावादी र माओवादी भएको बताउने गरेको उल्लेख गर्दै पछिल्लो समय आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठान्ने गरेको उनको भनाइ छ। यसपटक परिवर्तनकारी पक्षतिरनै समर्थन रहने समेत उनले लेखेका छन्।
‘आखिर म पनि निर्वाचनमा उठ्ने नै भएँ। तर कुन पार्टीबाट? अब यस्तोमा म उठ्ने पार्टी कुन होला त? हो, यही फागुन महिनामा नै सुरू हुने अन्यायविरूद्ध निर्वाचनमा होमिएको एक उम्मेदवारको कथासहित मेरो आफ्नै फिल्ममा अभिनय गर्दैछु। म उठ्ने त्यसमै हो। मैले जानेको पनि यही नै हो। जे जान्दछु गर्ने पनि त्यही नै हो,’ उनले लेखेका छन्।
फिल्मको छायांकन फागुनबाट सुरू हुनेछ।
Shares

प्रतिक्रिया