अर्बपति उद्योगी विनोद चौधरीले हलमा प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’ हेरेका छन्। मंगलबार फिल्म हेरेका उनले सिनेमाले सुरुदेखि अन्तिमसम्म बाँधेर राख्ने बताउँदै खुलेर प्रशंसा हेरे।
इमान्दार कर्मचारी कसरी भ्रष्टाचारीको फन्दामा पर्छ, भ्रष्टचार नियन्त्रण कसरी गर्नेजस्ता महत्वपूर्ण विषय सिनेमाले उठाएको भन्दै उनले तारिफ गरे।
युवामा कसरी परिवर्तन आउँछ, उसले कसरी देशलाई नै परिवर्तन गर्नसक्छ भन्ने कुरा सिनेमा रहेको र त्यो आफूलाई मन परेको उद्योगी चौधरीले बताए ।
‘यसमा जसरी जेनजीलाई प्रस्तुत गरिएको छ, त्यो नै जेनजी हो भन्ने कुरालाई व्यापक बनाउनुपर्छ। कताकता जेनजीको मुभमेन्टलाई विथोल्ने पनि जन्मिए, त्यसको म आफैँ पीडित हुँ,’’ उनले भने।
‘झरिपछिको इन्द्रेणी’ हेर्दा आफूले पनि संलग्न भएको सिनेमा ‘बासुदेव’को सम्झना भएको बताए ।
‘हामीमा विदेश जाने, विदेशमा सबैथोक हुुन्छ भन्ने मानसिकता छ। यता परिवार घरमा हुन्छ। घरमै बसेर पनि गर्न सकिन्छ भन्ने सन्देश मनपर्यो,’ उनले भने, ‘धेरै कुरा समेट्नु भएको छ । हरेक कलाकारको एक्टिङ मलाई मनपर्यो ।’
सबैले हेर्नुपर्ने चलचित्र बनेको भन्दै उनले भने, ‘यो फिल्म सबैलाई देखानुपर्छ। यस्तै काम गर्दै जानुस्, शुभकामना छ ।’
उनले आफूले सिनेमा बनाउने सम्भावना रहेको बताए। आफूले पहिला पनि सिनेमा बनाएको र एकपटक सिनेमा बनाएपछि त्यसको सधैँ माया हुने बताए । आफू सिनेमा क्षेत्र कर्पोरेटाइज हुनुपर्ने धारणा राख्दै आएको सुनाए।
नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ ।
यस फिल्ममा गणेश उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ। निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् ।
डेव्यु अभिनेता विमोचनको अभिनयको समेत दर्शक निकै तारिफ गरिहेका छन्। जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ। फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्।
Shares

प्रतिक्रिया