कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई समेटिएको छ।
ट्रेलरको गणेश पात्रबाट गरिएको छ, जो पढाईमा कमजोर हुँदा समाजमा हेपिएकोदेखि सानो काम गरेको व्यक्ति हुन्। उनै गणेश पात्रको काठमाडौंको यात्रा, त्यहाँ भोग्नुपर्ने संघर्ष र उताडचडावको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ। हास्यरस र भावना मिसिएको ट्रेलर मार्मिक पनि रहेको छ। फिल्मको ट्रेलरमा बल्छीसँगै वर्षा शिवाकोटी लगायतका कलाकारलाई देख्न सकिन्छ।
‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका बल्छी धुर्बेले टेलिचलचित्र निर्देशन गरेका थिए। उनले बनाएका टेलिश्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन्। बल्छी धुर्बे फिल्मस्को प्रस्तुति रहेको यस फिल्ममा उनकै कथा रहेको छ।
फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतको अभिनय छ। यो फिल्म आगामी माघ १ गतेबाट नेपालभरका हलमा रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया