गायक तथा अभिनेता प्रकाश सपुत शनिबार साँझ आफ्नो जन्मथलो बागलुङका दर्शकमाझ प्रस्तुत भए। बागलुङ महोत्सवको क्रममा उनलाई बागलुङ उद्योग वाणिज्य सङ्घले मञ्चमा उभ्याएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि रास्वपाले सपुतलाई समानुपातिक बन्दसूचीको दलित पुरुष क्लस्टर तर्फको दोस्रो नम्बरमा राखेको छ।
रास्वपाको राजनीतिमा पनि सक्रिय उनी समानुपातिक बन्दसूचीमा परेपछि पहिलोपटक गृहजिल्ला गएका हुन्।
सप्तान्हतको साँझ गीतसङ्गीतप्रेमी दर्शक सपुतका गीतमा झुमे, रमाए। डेढ घण्टा बढी प्रस्तुती दिनुभएका गायक सपुतले आफ्ना चर्चित गीत ‘बोलमाया...’ देखि ‘गलबन्दी...’ सम्म प्रस्तुत गरे।
‘नमस्कार...’ बोलको गीतसँगै मञ्चमा देखा परेका उनले ‘दोहोरी ब्याटल’सँगै आफ्नो प्रस्तुतिको मैजारो गरे। छिपिँदो रातसम्म सपुतलाई दर्शकले साथ दिए । दुई वर्षपछि उहाँले आफ्नो गृहथलोमा प्रस्तुति दिएका हुन्। सपतुले ‘पिर...’, ‘फूलमाया...’, ‘मेरो पनि होइन र...’ लगायत गीत सुनाउनुभयो । सपुतले आफूद्वारा अभिनित चलचित्रका गीतसमेत गाए। उनको गायन र प्रस्तुतिमा दर्शक मन्त्रमुग्ध देखिन्थे।
स्वस्थ मनोरञ्जनदेखि सामाजिक विषयवस्तुका गीत सृजनामा पारङ्गत सपुतले आफ्नो साङ्गीतिक सफलताको श्रेय बागलुङलाई जाने बताए। उनले बागलुङको परिवेश, हावापानी, संस्कार र संस्कृति नै आफ्ना सृजनाको स्रोत रहेको उल्लेख गरे।
सपुतको प्रस्तुति सुन्न प्रौढदेखि बालबालिकासम्म महोत्सवस्थल पुगेका थिए।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुत गायन र अभिनय कलामा पोख्त छन्। उनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ गत वर्ष प्रदर्शनमा आएको थियो। उनले ‘पूर्णबहादुरको सारङ्गी’, हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ लगायत चलचित्रमा अभिनय गरेका छन्। सपुतसँगै शनिबार गायक कुमार पुन, गायिका टीका पुनलगायतका कलाकारले महोत्सवमा प्रस्तुति दिएका थिए।
यही पुस ११ गतदेखि सुरु भएको महोत्सव सोमबारसम्म सञ्चालन हुनेछ । महोत्सवका अवधिभर विभिन्न कलाकारहरूको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका संयोजक एवं बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताए।
Shares

प्रतिक्रिया