चर्चित बलिउड अभिनेता सञ्जय दत्तले नेपाली कलाकारहरुसँग भेटघाट गरेका छन्।
उनले अभिनेता प्रदीप खड्कादेखि सन्दीप क्षेत्री, अभिनेत्री नीति शाह र गायिका स्मिता दाहाल लगायतले सञ्जयसँग भेटघाट गरेका हुन्।
कलाकारहरुले सञ्जयसँग भेटेको तस्बिरहरु सामाजिक सञ्जालमा राखेका छन्। सन्दीपले बाल्यकालको हिरो भन्दै सञ्जयसँगको भेटेको तस्विर र भिडिओ फेसबुकमा राखेका छन्।
‘मेरो बाल्यकालको हिरोलाई प्रत्यक्ष भेट्दै, म योभन्दा बढी के माग्न सक्छु? साँच्चै जीवनभरको सम्झना। सधैंभरि कृतज्ञ।’
त्यस्तै, प्रदीप खड्काले पनि सञ्जयसँग भेटेको तस्विर राख्दै निकै खुसी लागेको उल्लेख गरेका छन्। उनले फोटो राख्दै लेखेका छन्, ‘बत्तीहरू पूर्ण रूपमा राम्रो नभएपनि त्यहाँको माहोल अद्भूत थियो।’
नीति शाहले पनि क्याप्सनसहित संजयसँगका केही तस्बिर साझा गरेकी छन्।
काठमाडौँमा बादशाह क्यासिनो उद्घाटनको लागि बिहीबार साँझ दत्त नेपाल आएका थिए। नेपाल आएसँगै उनलाई एयरपोर्टमा ढाकाटोपी लगाउँदै स्वागत गरिएको थियो।
दत्तले बिहीबार बेलुका नै पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास ललितपुरको हात्तीवन पुगेर भेटेका थिए। जहाँ उनले प्रचन्डकी नातिनि तथा गायिका स्मिता दाहालसँग पनि भेटे। गत वर्ष स्मिताको विवाहमा भिडिओ सन्देश नै जारी गरेर शुभकामना दिएका थिए।
त्यस्तै, सञ्जय दत्तले चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग भेट गरेका छन्। शुक्रबार दत्त पशुपतिनाथ मन्दिर समेत दर्शन गरेका थिए। आजै उनी भारत फर्किने बताइएको छ।
Shares

प्रतिक्रिया