कला


राजेश हमाल भन्छन्ः देश बनाउन नेता मात्र होइन, जनता पनि जिम्मेवार हुनुपर्छ

राजेश हमाल भन्छन्ः देश बनाउन नेता मात्र होइन, जनता पनि जिम्मेवार हुनुपर्छ

नेपालखबर
पुस २७, २०८२ आइतबार १४:२१, विराटनगर

अभिनेता राजेश हमालले राष्ट्र निर्माण र समृद्धिका लागि केवल नेतृत्वलाई मात्र दोष दिएर उम्कन नपाइने बताएका छन्। विर्तामोडस्थित इष्टर्न सहारा कम्पनीको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै हमालले देशको भविष्य निर्माणमा आम नागरिकको भूमिका र जिम्मेवारी निर्णायक हुने उल्लेख गरे।
 

साधारण सभालाई सम्बोधन गर्दै हमालले सबैभन्दा शक्तिशाली नेपाली जनता नै रहेको बताए। 

‘अहिले बल जनताको कोर्टमा छ,’ उनले भने, ‘निर्वाचनको समयमा हामीले गर्ने एउटा निर्णयले आगामी पाँच वर्षको भविष्य तय गर्छ। त्यसैले आफ्नो शक्तिको प्रयोग गर्दा अत्यन्तै जिम्मेवार र सचेत हुन आवश्यक छ।’

विगतका गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भोट दिएर शक्ति हस्तान्तरण गरिसकेपछि गुनासो गर्नुभन्दा निर्णय लिनुअघि नै विवेक पुर्‍याउनु पर्ने सुझाव दिए।

चिनियाँ नेता देङ सियाओपिङको प्रसिद्ध भनाइ ‘बिरालो कालो होस् वा सेतो, मुख्य कुरा त्यसले मुसा मार्नुपर्छ’ भन्ने उदाहरण दिँदै हमालले व्यवस्था वा परिस्थितिलाई दोष दिएर हात बाँधेर बस्न नहुने बताए। 

उनले भने, ‘हाम्रो सरकार ठीक छैन वा परिस्थिति अनुकूल छैन भनेर हतोत्साहित हुनुहुँदैन। चुनौतीकै बीचबाट बाटो खन्दै अगाडि बढ्नु नै वास्तविक उर्जाशील नागरिकको पहिचान हो।’

अन्तर्राष्ट्रिय सम्बन्धको तितो यथार्थ खोल्दै हमालले कुनै पनि राष्ट्रले अर्को राष्ट्रलाई वास्तविक दया वा माया नगर्ने टिप्पणी गरे। 

‘सिनेमा हल वा बसमा जाँदा आफ्नो सामानको सुरक्षा आफैँ गर्नुस् भनेझैँ, देशको विकास र सुरक्षाको जिम्मा पनि हामी आफैँले लिनुपर्छ,’ उनले भने, ‘छिमेकी वा शक्तिशाली राष्ट्रले हामी उन्नत भएको देख्न चाहँदैनन्, त्यसैले हामी आफ्नै खुट्टामा उभिन सिक्नुपर्छ।’

नयाँ आउने नेतृत्वले ‘विगतमा केही भएन’ भन्दै सस्तो लोकप्रियता कमाउन खोजेको प्रति व्यङ्ग्य गर्दै हमालले स्पष्ट कार्ययोजनाको माग गरे।

शिक्षा, स्वास्थ्य, र पूर्वाधार जस्ता क्षेत्रमा रहेका समस्याहरूलाई रातारात जादुमयी ढंगले परिवर्तन गर्छु भन्नु भन्दा पनि, ती समस्या समाधानका लागि पहिलो खुड्किलो के हुने र ५ देखि ५० वर्षसम्मको योजना के छ भन्ने कुरामा स्पष्टता खोज्न जनतालाई आग्रह गरे।

कार्यक्रममा इष्टर्न सहारा कम्पनीका सेयरधनी तथा सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad