कला


माघे संक्रान्तिमा आएका तीनै फिल्मको ‘ओपनिङ’ न्यून, दुई दिनमा २५ लाख कटाउन हम्मेहम्मे

माघे संक्रान्तिमा आएका तीनै फिल्मको ‘ओपनिङ’ न्यून, दुई दिनमा २५ लाख कटाउन हम्मेहम्मे

लक्ष्मी बलायर
माघ २, २०८२ शुक्रबार १६:२५, काठमाडौँ

माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आएका तीन नेपाली फिल्मको ओपनिङ कमजोर देखिएको छ। पहिलो दिन ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ को व्यापार न्युन रहेको छ।

दर्शकबाट राम्रो प्रतिक्रिया पाए पनि तीनै फिल्मले बक्सअफिसमा भने उछाल ल्याउन सकेन। मंसिर र पुसमा सुस्ताएको नेपाली बक्सअफिसमा माघे संक्रान्तिले पनि दर्शकलाई हलसम्म तान्न सकेन्।

यस पटक मंसिर र पुससम्मका फिल्मले बक्सअफिसमा खासै व्यापार गर्न सकेनन्। मंसिरदेखि पुससम्म ‘हर्ष’, ‘अभिमन्यु: च्याप्टर १’, ‘पीआर’, ‘लोकन्ती’, ‘चिराग’, ‘झरीपछिको इन्द्रेणी’, ‘एक्लो १’ र ‘मुग्लान’ रिलिज भए। तर, यी कुनै पनि फिल्मले बक्सअफिसमा राम्रो व्पायार गर्न सकेनन्।

बरु बलिउड फिल्म ‘धुरन्धर’ र हलिउड फिल्म ‘अवतार ३’ ले भने नेपालमा राम्रै कमाइ गरे। चलचित्र विकास बोर्डको बक्सअफिस पछिल्लो रिपोर्ट अनुसार ‘धुरन्धर’ ले नेपालमा १० करोड १५ लाख १८ हजार ग्रस कलेक्सन गरेको छ। त्यस्तै, हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ ले ६ करोड २६ लाख १२ हजार व्यापार गरेको छ।

तर, बोर्डको बक्सअफिस रिपोर्टअनुसार ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ को ओपनिङ न्युन देखिएको छ। बिहीबार राति ९ बजेसम्मको तथ्यांकअनुसार तीन वटै फिल्मको ओपनिङ सुखद छैन। बिदाको दिन भए पनि १५ लाख कटाउन मुस्किल परेको छ।

‘तीन वटै फिल्मको ओपनिङ सुखद् छैन। एउटा फिल्मले १५ लाखको ओपनिङ समेत गर्न सकेको छैन। बिदाको दिन भएकाले फिल्मले राम्रै व्यापार गर्ने आशा थियो। तर, तीन वटै फिल्म खासै चलेनन्,’ बक्सअफिस स्रोतले नेपालखबरसँग भन्यो, ‘आज पनि तीनै फिल्मको व्यापार १० लाख समेत कट्न सकेको छैन। दुई दिनमा २५ लाख पनि कमाउन गाह्रो देखिएको छ।’

यम शेर्पाको निर्देशनमा बनेको ‘मिरमिरे’ ले पहिलो दिन डेढ सय हाराहारीमा शो पाएको थियो। आज पनि हलहरूमा फिल्मले त्यतिनै शो पाएको छ। यद्यपि, शोअनुसार हलमा दर्शकको अकुपेन्ची छैन।

यस फिल्ममा दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। यमकै कथा रहेको फिल्मले बाबुछोरीको सम्बन्धसहित त्रिकोणात्मक प्रेमकथा भन्छ। साथै फिल्ममा माओत्से गुरूङ, भोलाराज सापकोटा, छुल्ठिम गुरूङ, शाइसा गौचनलगायत कलाकारको पनि अभिनय छ।

बल्छी धुर्वे (मरिचमान श्रेष्ठ) को निर्देशन रहेको ‘गोबर गणेश’ लाई पनि दर्शकले साथ दिन सकेनन्। पहिलो दिन देशभर ११२ शो पाएको यस फिल्ममा पनि अकुपेन्ची खासै देखिएन।

बल्छी धुर्वेको लगानीमा बनेको फिल्ममा बल्छीसँगै वर्षा शिवाकोटी विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी लगायतको अभिनय छ।

‘भाइरल गोर्खे’ मा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्। निगम श्रेष्ठको निर्देशनमा बनेको कमेडी जनराको फिल्मले पहिलो दिन १०७ शो पाएको थियो। यस फिल्ममा सौगात र सृष्टिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल, मिस पवीलगायत कलाकारको अभिनय छ।

सुरुवाति व्यापार कमजोर देखिए पनि बलियो माउथ पब्लिसिटीले भने दर्शकको संख्या बढाउने सक्न आशा गरिएको छ। त्यसको लागि भने केही दिन कुर्नै पर्छ। 

माघ महिनामा प्रदर्शन हुने फिल्मको क्यालेक्डरमा ९ वटा फिल्म छन्। विभिन्न जनराका यी फिल्मबाट बक्सअफिस पुरानै लयमा फर्किने चलचित्रकर्मीको आशा थियो। तर, जसमध्ये माघ १ बाट रिलिज तीन वटा फिल्मले त्यो अपेक्षा पूरा गर्न सकेनन्।

आगामी प्रदर्शनको सूचीमा रहेका फिल्म टिमले भने अहिले प्रचारप्रसारमा तीव्रता दिइरहेका छन्। दर्शक फकाउन उनीहरू देशभरका ठाउँमा पुगेर फिल्मको प्रमोसन गरिरहेका छन्। 

माघ ९ गतेदेखि  ‘परिर्वतन’ र ‘बिगुल’ प्रदर्शनको तयारीमा छन्। विजय केरुङको निर्देशनमा बनेको ‘परिवर्तन’ एक्सन र सस्पेन्स विधामा आधारित छ। यस फिल्मम सुशील श्रेष्ठ र अञ्जना बराइली मुख्य भूमिकामा छन्।

त्यस्तै, माघ ९ मै रिलिज हुने ‘बिगुल’ सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित छ। रमेश कोइरालाको निर्देशनमा बनेको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, नीर शाह र सरोज खनालको अभिनय छ।

त्यस्तै, माघ १६ गतेबाट ‘आबाट आमा’ र ‘द ब्लू लाइट’ रिलिज हुनेछन्। चन्द्र पन्तको लेखन तथा निर्देशनमा बनेको ‘आबाट आमा’ ले आमा र छोराबीचको भावनात्मक सम्बन्धलाई कथालाई समेटेको छ। फिल्ममा प्रदीप रावत, बिपना थापा, पल शाह, साइग्रेस पोखरेल र उषा उप्रेती लगायतको अभिनय छ।

बलिराम चौहानद्वारा निर्देशित ‘द ब्लु लाइट’ मनोवैज्ञानिक थ्रिलर फिल्म हो। यसमा बेनिशा हमाल, अर्पण थापा, आयुषमान देशराज जोशी र सुरक्षा इटानीको अभिनय छ।

यस्तै माघ २३ मा दुई प्रेमकथानक फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ हलमा लाग्दै छन्। दिनेश राउतको लेखन तथा निर्देशन ‘कुमारी’ मा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। यसै फिल्मबाट दुबैले डेब्यू गर्दै छन्।

सुदिप्ताको लेखन तथा निर्देशनमा बनेको ‘रमिताको पिरती’ मा युवतीको मनोविज्ञानको कथालाई समेटिएको छ। यसमा आना शर्मा, धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठ शीर्ष भूमिकामा छन्।

यी ६ वटा फिल्मले बक्सअफिसलाई पुरानै लयमा फर्काउँलान्? त्यो भने आगामी दिनमै थाहा होला!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad