कला


चलचित्र ‘कुमारी’को अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्व रिलिज अधिकार बिक्री

चलचित्र ‘कुमारी’को अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्व रिलिज अधिकार बिक्री

नेपालखबर
माघ १२, २०८२ सोमबार १३:७, काठमाडौँ

माघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुमारी’को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशहरूमा बिक्री भएको छ। 

अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि चलचित्र बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए। 

अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले चलचित्र रिलिज गर्नेछन्।

ट्रेलरले पाएको सफल प्रतिक्रिया र दर्शकको उत्साहपछि अन्य देशहरूबाट समेत चलचित्र प्रदर्शनका लागि निरन्तर माग आइरहेको निर्माता अधिकारीले बताए। 

काठमाडौंको भृकुटीमण्डपमा दश हजारभन्दा बढी दर्शकको ऐतिहासिक उपस्थितिमा ट्रेलर सार्वजनिक भएपछि चलचित्रले स्वदेश तथा विदेशमा व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने छोटो समयमै युट्युब ट्रेन्डिङमा पर्न सफल ट्रेलर करिब ८ लाख भ्युज प्राप्त गरिसकेको छ।

निर्देशक दिनेश राउत ले दर्शकको अभूतपूर्व उपस्थितिमा ट्रेलर सार्वजनिक हुनु आफ्नो सपना पूरा भएको अनुभूति भएको बताउँदै यही उत्साह सिनेमा हलसम्म पुग्ने विश्वास व्यक्त गरेका छन्‌।

चलचित्र ‘कुमारी’ बाट अबिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।

विनिश इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा विकास सुवेदी ले लेखेका हुन्। छायाङ्कन सुसन प्रजापति, सम्पादन र कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन को रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन्।

चलचित्रका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ ले यसअघि नै चर्चा बटुलिसकेका छन्। विशेष गरी ‘डोको बुन्ने’ गीतले ६० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। चलचित्रका सबै गीतमा केहर सिंह लिम्बु को स्वर रहेको छ भने सङ्गीत सुमन तामाङ र शब्द सागर लामिछाने मगर तथा सुमन तामाङको रहेको छ।

प्रेमकथामा सफल पहिचान बनाइसकेका निर्देशक दिनेश राउतले सामाजिक विषयका चलचित्रपछि पुनः प्रेम कथामा फर्किएको ‘कुमारी’ले स्वदेश र विदेशका दर्शकको मन जित्ने विश्वास निर्माताको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad