कला


हायात होटल चउरमा नेपाली झुमाउने ती अरिजीत, जसले लोकप्रियताको शिखरमै हुँदा 'प्लेब्याक' गायनलाई गरे ‘बाई बाई’

हायात होटल चउरमा नेपाली झुमाउने ती अरिजीत, जसले लोकप्रियताको शिखरमै हुँदा 'प्लेब्याक' गायनलाई गरे ‘बाई बाई’

हिन्दी सांगीतिक जगतका लोकप्रिय गायक अरिजित सिंह


नेपालखबर
माघ १४, २०८२ बुधबार १४:४६, काठमाडौँ

हिन्दी संगीत दुनियाँमा अत्यधिक मनपारइएका, प्लेब्याक गायनका चर्चित अरिजीत सिंहले मंगलबार साँझ फेसबुकबाट घोषणा गरे कि उनी प्लेब्याक गायनलाई अलविदा भन्दैछन्। यो निर्णयले उनका धेरै फ्यानहरू छक्क परेका छन्।

अरिजितले दुई वर्षअघि कन्सर्टका लागि काठमाडौं आएका थिए। २०८० मंसिरमा आएका उनले हायात होटलको चउरमा बनाइएको भव्य स्टेजमा गीत गाएका थिए।

प्लेब्याक सिंगिङबाट संन्यास लिने उनको निर्णयले विश्वभरका करोडौँ फ्यानलाई स्तब्ध बनाएको छ। ४० वर्षको उमेरमै सफलताको शिखरमा रहेकै बेला उनले मंगलबार सामाजिक सञ्जालमार्फत संगीतको यो विधाबाट विदा लिएको सार्वजनिक गरेका हुन्। यद्यपि, उनले संगीत सिर्जनाको काम भने जारी राख्ने स्पष्ट पारेका छन्।

काठमाडौंको हायात होटलको कन्सर्टमा अरिजीत सिंह

धेरैलाई यो निर्णयले अचम्ममा पारे पनि उनीसँग नजिक रहेका फिल्मकर्मीहरू भने यसलाई स्वभाविक मान्छन्। निर्देशक अनुराग बसु भन्छन्, 'अरिजीत गायनबाहेक जीवनमा अरू धेरै कुरा गर्न चाहन्थे। उनी फिल्म मेकिङप्रति निकै प्यासोनेट छन्।' बसुका अनुसार फिल्म 'बर्फी'ताका नै अरिजीतले उनलाई सहायक निर्देशकका रूपमा काम दिन आग्रह गरेका थिए।

अरिजीतले निर्देशकका रूपमा आफ्नो पहिलो हिन्दी फिल्मको काम सुरु गरिसकेका छन्। यो एक 'जंगल एडभेन्चर' फिल्म हुनेछ, जसमा नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा देखिनेछन्। फिल्मको छायांकन अहिले पश्चिम बंगालको शान्ति निकेतनमा भइरहेको छ र यसको पटकथा अरिजीत र उनकी पत्नी कोयल सिंहले संयुक्त रूपमा लेखेका हुन्।

लाइमलाइटबाट टाढा, गाउँकै माया

मुम्बईको झिलिमिलीभन्दा टाढा पश्चिम बंगालको मुर्शिदाबादमा बस्न रुचाउने अरिजीतले त्यहीँबाट आफ्नो प्रोडक्सन हाउस र रेकर्डिङ स्टुडियो चलाउँदै आएका छन्। उनी सत्यजीत रेको सिनेमाबाट निकै प्रभावित छन् र यसअघि एउटा बंगाली फिल्मको निर्देशन पनि गरिसकेका छन्।

अरिजीतको काठमाडौंको कन्सर्टका नेपाली सहभागी

सन् २००५ मा रियालिटी शो 'फेम गुरुकुल'बाट सांगीतिक यात्रा सुरु गरेका अरिजीतलाई 'मर्डर २' को 'फिर मोहब्बत' गीतले पहिलो ब्रेक दिएको थियो। सन् २०१३ को 'आशिकी २' को 'तुम ही हो' पछि उनी भारतीय संगीत उद्योगको निर्विकल्प बादशाह बने।

स्टेजमै बोलेका थिए नेपाली

अरिजीतको करियरको सबैभन्दा ठूलो विवाद सलमान खानसँग रह्यो। सन् २०१४ को एक अवार्ड कार्यक्रममा भएको सामान्य भनाभनले सात वर्षसम्म उनीहरूबीच बोलचाल बन्द भएको थियो। तर, पछि 'टाइगर ३'बाट उनीहरूबीचको सम्बन्ध सुध्रियो। आउँदो अप्रिल १७ मा रिलिज हुने सलमानको फिल्म 'द ब्याटल अफ गलवान'को 'मातृभूमि' गीतमा पनि अरिजीतकै आवाज रहेको छ।

अरिजीतको काठमाडौंको कन्सर्टका नेपाली सहभागी

काठमाडाैंको कन्सर्टमा उनले आफ्ना चर्चित गीतहरु गाउँदै नेपाली दर्शकलाई झुमाएका थिए। उनले नेपाली गीत पनि गाउन कोसिस गरेका थिए। स्टेजमा उक्लिँदै सुरूमै नेपाली गीत गाएर उनले  भनेका थिए, ‘मलाई थाहा छ मेरो शब्द उच्चारण मिलिरहेको छैन।’

फिल्म निर्देशन, स्कुल सञ्चालन र समाजसेवामा समय बिताउने योजनासहित अरिजीतले 'प्लेब्याक' गायकीलाई पूर्णविराम लगाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad