निर्देशक मीनबहादुर भाम विश्व प्रसिद्ध बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (बर्लिनाले) को जुरी सदस्य बनेका छन्। बर्लिनाले नेपाली फिल्म निर्देशक भामलाई जुरी सदस्यका रूपमा घोषणा गरेको हो।
७६औँ बर्लिनालेको अन्तर्राष्ट्रिय जुरी सदस्य बनेछि भामले फेसबुकमार्फत खुसी व्यक्त गरेका छन्।
‘७६औँ बर्लिनालेको अन्तर्राष्ट्रिय निर्णायक मण्डलको सदस्यका रूपमा सेवा गर्न पाउँदा म निकै भावुक र गौरवान्वित छु। विम वेन्डर्स जस्ता दिग्गज व्यक्तित्व, जसको काम हामी धेरैका लागि एउटा मार्गदर्शन बनेको छ, उहाँसँगै उभिन पाउनु मेरा लागि सपनाभन्दा परको सम्मान हो,’ उनले लेखेका छन्।
साथै उनले सन् २०११ मा बलिउड अभिनेता आमिर खानले बर्लिनालेमा जुरी सदस्यको भूमिका निर्वाह गरेको प्रसंग स्मरण गरेका छन्।
आमिरपछि ‘कालोपोथी’ र ‘शाम्बाला’जस्ता फिल्म बनाएका मीनले त्यो मौका पाएका छन्। ‘शाम्बाला’ गतवर्ष बर्लिनकै मुख्य विधाको प्रतिस्पर्धामा थियो ।
यस्तो छ उनले लेखेको स्टाट्स:
७६औँ बर्लिनालेको अन्तर्राष्ट्रिय निर्णायक मण्डलको सदस्यका रूपमा सेवा गर्न पाउँदा म निकै भावुक र गौरवान्वित छु। विम वेन्डर्स जस्ता दिग्गज व्यक्तित्व, जसको काम हामी धेरैका लागि एउटा मार्गदर्शन बनेको छ, उहाँसँगै उभिन पाउनु मेरा लागि सपनाभन्दा परको सम्मान हो। सन् २०११ मा मेरा प्रिय आदर्श आमिर खानले कोर्नुभएको ऐतिहासिक बाटोलाई स्मरण गर्दै, म यो पवित्र जिम्मेवारीलाई निकै विनम्रताका साथ स्वीकार गर्दछु। आज मेरो हृदय कृतज्ञताले भरिएको छ। यो प्रतिष्ठित विश्वमञ्चमा उभिँदै गर्दा म आफूसँगै हाम्रा पहाडका सुसेली, नेपाली जनताको धैर्यता र नेपालको आत्मा बोकेर जाँदै छु। यो यात्रा मेरो मात्र होइन, यो हाम्रो साझा यात्रा हो। मलाई विश्वास गर्नुभएकोमा बर्लिनाले, महोत्सव निर्देशक ट्रिसिया टटल र मेरा आदरणीय सह-निर्णायकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। सिनेमाको परिवर्तनकारी शक्तिलाई उत्सवका रूपमा मनाउने यस गहन यात्राको लागि म निकै उत्साहित छु। बर्लिनमा भेटौँला!’
Shares

प्रतिक्रिया