कला


नेपाली बक्सअफिसको माघ: धेरै आशा, एउटा मात्रै ‘हिट’

नेपाली बक्सअफिसको माघ: धेरै आशा, एउटा मात्रै ‘हिट’

लक्ष्मी बलायर
माघ २९, २०८२ बिहिबार १९:४७, काठमाडौँ

दशैं-तिहारको छेकोमा बक्सअफिसमा जुन खालको सुनामी आएको थियो, मंसिर लागेसँगै त्यो लहर शान्त भयो। मंसिर र पुसमा रिलिज भएका आठवटा फिल्महरू- 'हर्ष'देखि 'मुग्लान'सम्मले हलमा दर्शकको खडेरी नै लगाए। नेपाली फिल्म सुस्ताइरहँदा बलिउडको 'धुरन्धर' र हलिउडको 'अवतार ३'ले भने नेपाली रूपैयाँ मज्जाले कमाए।

मंसिर-पुसको सुस्तता माघले चिर्ने धेरैको अनुमान थियो। क्यालेन्डरमा स्टार कलाकारका फिल्म थिए, संख्या पनि बाक्लै थियो। लाग्थ्यो, असोज-कात्तिकको त्यो पुरानो लय माघमा फर्किनेछ। तर, विडम्बना १ माघमा रिलिज भएका आठ फिल्ममध्ये एउटै मात्र फिल्मले लगानीको खुड्किलो उक्लिन सफल भयो। बाँकी सबैको हविगत दयनीय देखियो।

माघ १ गते माघे संक्रान्तिको अवसर पारेर तीन फिल्म मैदानमा उत्रिए- 'गोबर गणेश', 'मिरमिरे' र 'भाइरल गोर्खे'। दयाहाङ राई र प्रकाश सपुतजस्ता पब्लिक डिमाण्डका कलाकार रहेको 'मिरमिरे'ले बक्सअफिसमा चमत्कार गर्ने अपेक्षा थियो। तर, दयाको स्टारडमले पनि फिल्मलाई उकास्न सकेन। १७ दिनमा यसले जम्मा ३३ लाख ९३ हजारको व्यापार गर्‍यो।

त्यस्तै अवस्था सौगात मल्ल र सृष्टि श्रेष्ठको 'भाइरल गोर्खे'को पनि रह्यो। १७ दिनमा ३६ लाख १० हजारको कलेक्सन गर्दै यो फिल्म बक्सअफिसमा नराम्ररी पछारियो। टेलिभिजनका 'बल्छी धुर्बे' अर्थात् मरिचमान श्रेष्ठले निर्देशनमा डेब्यु गरेको 'गोबर गणेश'ले भने १ करोड ४० लाखको व्यापार गरेको छ। वर्षा शिवाकोटी र मरिचमानकै मुख्य भूमिका रहेको यो फिल्मको व्यापार ठिकठाक देखिए पनि लगानी सुरक्षित गर्न भने अझै सकस छ।

'आ बाट आमा'ले ९ दिनमा ४ करोड कमायो
यस महिनाको एक मात्र सुखद पक्ष बन्यो- 'आबाट आमा।' चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्मले वैदेशिक रोजगारीको कारुणिक कथा भन्छ। पल शाह, विपना थापा र प्रदीप रावतजस्ता कलाकारको अभिनय रहेको यस फिल्मले रिलिजको ९ दिनमै ४ करोड ८० लाख ९० हजारको ग्रस कलेक्सन गर्दै आफ्नो लगानी सुरक्षित गरेको छ।

प्रविधिको प्रयोग र भावनात्मक कथाका कारण दर्शकको साथ पाइरहेको यो फिल्म भोलिदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दैछ। तर, यही फिल्मसँगै आएको बेनिशा हमालको 'द ब्लू लाइट'ले भने ३ दिनमा जम्मा ३ लाख कमाएर हलबाट उत्रिनु पर्‍यो।

माघ ९ मा सोलो रिलिज पाएको सुशील श्रेष्ठको एक्सन फिल्म 'परिवर्तन' ३१ लाखमै सीमित भयो। महिनाको अन्त्यतिर निकै हाइप बनाएको दिनेश राउतको लभस्टोरी 'कुमारी'को अवस्था झनै अचम्मको रह्यो। 'डोको बुन्ने' गीत हिट भए पनि फिल्मले एक सातामा ५० लाखको आँकडा पनि छुन सकेको छैन। डेब्यु कलाकार आकृति राजभण्डारी र अभिषेक खड्काका लागि यो नतिजा उत्साहजनक रहेन।

आना शर्मा, धीरज मगर र समीर श्रेष्ठको 'रमिताको पिरती'ले समीक्षकबाट तारिफ त पायो, तर व्यापारमा भने बिजोक नै देखियो। एक सातामा २० लाखको व्यापारले फिल्मको टिमलाई निराश बनाएको छ।

फागुनको आशा
माघको रिपोर्टकार्ड 'रेड मार्क'ले भरिएपछि अब सबैको नजर फागुनमा छ। फागुन १ गतेबाट 'बिगुल', शिवांशस् च्याप्टर १' र 'श्री बुकुरो' प्रदर्शनमा आउँदैछन्। माघको असफलतालाई फागुनका यी फिल्मले कभर गर्लान् त? नेपाली फिल्म क्षेत्र यतिबेला यही प्रश्नको उत्तर पर्खिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad