विश्वभरिका प्रेमीप्रेमिका प्रेम दिवसमा रमाइरहेको बेला तनहुँको पहाडी बस्तीमा शनिबार बेग्लै रमझम चलिरहेको थियो। देशका तीन सहरमा भव्य कन्सर्ट गरेर बन्दीपुर आइपुगेको लोकरक ब्यान्ड नेपथ्यले दर्शकको घुइँचोमाझ तन्नेरी मनका गीतहरू गुन्जाउँदै थियो।
निर्धारित समयमै कार्यक्रम सुरु हुँदा मञ्चमा आएका ब्यान्ड सदस्यहरूले पहिलो कोसेलीस्वरूप ‘हो रामा रामा’ सुनाए।
परसम्मकै बस्तीहरू जोडेर तयार भएको यो सिङ्गो गाउँपालिकाकै जनसङ्ख्या १९ हजार छ, नेपथ्य हेर्न आउने दर्शकको सङ्ख्या नै त्यसको एकतिहाइ देखिन्थ्यो। शनिबार साँझ बन्दीपुरमा जुटेका दर्शकमा अन्यत्रबाट आएकाहरूकै बाहुल्य थियो। विदेशी दर्शकको उपस्थिति पनि जताततै देख्न सकिन्थ्यो।
कार्यक्रम अगाडि बढ्दै गएको थियो।‘आज प्रेम दिवस भएकाले मलाई पनि मेरा कलेजका दिनहरू याद आइरहेका छन्,’ मञ्चमा गायक अमृत गुरुङ भनिरहेका थिए, ‘हामी तन्नेरी हुँदा लेखेको नेपथ्यको पहिलो गीत तपाईंहरूलाई सप्रेम प्रस्तुत गर्दै छु।’
त्यसपछि उनले ‘आँगनैभरि’ गाएर सुनाए।
मैदानभरि अटाएका युवकयुवतीले हुटिङ गरेर साथ दिए। गायक अमृतले बन्दीपुरको अनुभव साट्दै भनिरहेका थिए, ‘मोटर यातायात नचल्दा सिङ्गो गण्डक भेगका बासिन्दालाई भारतसँग जोड्ने यो नाकाको बस्ती एक समय यौवन हराएको ठाउँजस्तो नीरस भेटेको थिएँ। पछि यहाँका बासिन्दा आफैँ जागेर यो बजारलाई फेरि पर्यटकीय बस्तीका रूपमा गुलजार बनाए। यसको प्रेरणा देशभरि फैलियोस् भन्ने कामना गर्छु हई’
कन्सर्टमा स्थानीय भाका सुनाउने जमर्को गर्दै नेपथ्यले लोकभाका ‘कौडा’ मा आधारित गीत ‘जोगले हुन्छ भेट’ गायो। ब्यान्डले दुई घण्टासम्म लगातार १७ गीत सुनाएको थियो । ब्यान्डको प्रस्तुति राष्ट्रिय झन्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसुर्जे’ बाट अन्त्य भएको थियो।
मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
बन्दीपुरको प्रस्तुति सम्पन्न भएसँगै नेपथ्यको यसपालिको नेपाल यात्रा शृङ्खला पूरा भएको छ। अब आगामी नोभेम्बरमा नेपाल यात्राको अर्को शृङ्खला गर्ने तयारी छ। सिलिगुडीमा दुई सातापछि प्रस्तुति हुनेछ।
फेब्रुअरी २८ मा त्यहाँस्थित ‘उत्सोधारा टिस्टा टाउनसिप’ मा नेपथ्यले नेपाली लोकरक गीत सुनाउनेछ। पश्चिम बङ्गाल राज्यका पहाडी बस्तीहरूलाई जोड्ने उक्त ‘बिसौनी महानगर’ मा ब्यान्ड पहिलोपटक गुञ्जिन लागेको हो।
Shares

प्रतिक्रिया