एकै दिन रिलिज भएका फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’को बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको रिपोर्टअनुसार दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ अगाडि देखिन्छ।
गत माघ २३ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘कुमारी’ ले हालसम्म कुल ६४ लाख ४६ हजार १२६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। जुन अवधिमा १९ हजार ९५९ वटा टिकट बिक्री भएका छन्।
लबस्टोरी जनरामा बनेको यस फिल्ममा अभिषेक खड्का, आकृति राजभण्डारीले डेब्यु गरेका हुन्। फिल्मका कार्यकारी निर्माता केदार भुसाल र निर्माता महेन्द्र अधिकारी हुन्। यस फिल्मबाट धेरै आशा गरिएको थियो। तर, फिल्मले खासै व्यापार भने गर्न सकेन।
त्यस्तै, माघ २३ गतेबाटै प्रदर्शनमा आएको अर्को फिल्म ‘रमिताको पिरती’ले २८ लाख ६८ हजार १४३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। गत शनिबारसम्म फिल्मका ८ हजार ७३७ टिकट बिक्री भएका छन्।
आना शर्माको मुख्य भूमिका रहेको फिल्म ‘रमिताको पिरती’ रोमान्टिक ड्रामाले लगातार ब्रेकअप भोगिरहेकी युवतीकै दृष्टिकोणबाट कथा भन्ने प्रयास गर्छ। यस फिल्ममा आनासँगै गायक समीर श्रेष्ठ, धीरज मगर र विनय श्रेष्ठको अभिनय छ। आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्मको कथा पनि सुदीप्ताको नै रहेको छ।
Shares

प्रतिक्रिया