कला


हारपछि निशा: यात्रा समाप्त भएको छैन, अर्को अध्यायको सुरुवात

हारपछि निशा: यात्रा समाप्त भएको छैन, अर्को अध्यायको सुरुवात

नेपालखबर
फागुन २३, २०८२ शनिबार ११:३५, काठमाडौँ

अभिनेत्री निशा अधिकारीले प्रतिनिधि सभा चुनावमा हार भोगेकी छिन्। गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं क्षेत्र नं. ५ मा उम्मेदवार बनेकी निशा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेलसँग पराजित भएकी हुन्।

सस्मितले २३ हजारभन्दा बढी मत ल्याएर जित निकाल्न निशाले एक हजार मत पनि कटाउन सकिनन्। चुनावमा पराजित भएसँगै निशाले फेसबुकमार्फत सस्मितलाई बधाईं दिँदै चुनावको नतिजा जे भए पनि आफ्नो प्रतिबद्धता कहिल्यै परिवर्तन नहुने बताएकी छिन्।

‘लोकतन्त्रमा चुनाव केवल जित–हारको प्रतिस्पर्धा मात्र होइन, विचार, एजेण्डा र विश्वासको अभ्यास पनि हो। चुनावको नतिजा जे भए पनि, मेरो प्रतिबद्धता परिवर्तन भएको छैन। हाम्रो घरदैलो संवाद जारी रहनेछ। नागरिकसँग प्रत्यक्ष संवाद गर्दै, नीति र एजेण्डामा आधारित राजनीति निर्माण गर्ने हाम्रो प्रयास जारी रहनेछ,’उनले लेखेकी छिन्।

निशाले अहिलेको अवस्थामा प्रतिनिधि सभाभित्र बलियो प्रतिपक्ष कमजोर हुन सक्ने सम्भावना रहेको बताइन्। यस्तो अवस्थामा नागरिकको आवाज जोगाउन सडकबाट बलियो लोकतान्त्रिक प्रतिपक्षको भूमिका अझ महत्वपूर्ण हुने बताउँदै उनले त्यो जिम्मेवारी आफूले निरन्तर निभाउने सुनाइन्।

काठमाडौँ-५ बाट एकदिन महिला प्रतिनिधि संसदमा पुग्ने सपना अझै जीवित रहेको उल्लेख गर्दै उनले त्यो सपना पूरा गर्न आफ्नो क्षमताअनुसार निरन्तर प्रयास गर्ने अठोट व्यक्त गरेकी छन्। निशाले आफ्नो हारलाई यात्राको समाप्ति नभइ अर्को अध्यायको सुरुवात भनेकी छन्।

‘राजनीति मेरो लागि पदको यात्रा होइन, सेवा, मूल्यमान्यता र जिम्मेवारीको यात्रा हो। यो यात्रा यहाँ समाप्त भएको छैन। यो त केवल अर्को अध्यायको सुरुवात हो।’

साथै उनले आफूलाई साथ दिने सम्पूर्ण मतदातालाई समेत धन्यवाद दिएकी छिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad