प्रतिनिधि सभा सदस्य निर्वाचन हारेकी अभिनेत्री निशा अधिकारी भोलिपल्टै फिल्म क्षेत्रमा फर्किएकी छन्।
शुक्रबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं. ५ मा गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी निशाले ९१ मत मात्र ल्याएकी थिइन्।
त्यसको भोलिपल्टै शनिबार उनी अभिनेता निखिल उप्रेतीसँग फिल्म ‘कस्तुरी’को सुटिङमा संलग्न भएकी हुन्।
निशाले फेसबुकमा लेखेकी छन्, ‘आज (शनिबार) देखि ‘कस्तुरी’को सुटिङमा व्यस्त हुँदै छु। चुनावसम्म मलाई पर्खेर बस्नु भएकोमा ‘कस्तुरी’ टिमप्रति हार्दिक धन्यवाद।’
साथै निशाले आफ्नो पहिलो को-स्टारसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताएकी छन्।
‘मेरो पहिलो को-स्टार भएकाले होला- निखिल दाइसँगका कुरा जहिले पनि मिठा लाग्छन्। पहिलो फिल्मको पहिलो को-स्टार। अहिलेसम्म पनि सँगै काम गरिरहन पाएकोमा एकदमै खुसी लाग्छ।’
निशाले ‘मिसन पैसा’बाट सिनेक्षेत्रमा डेब्यु गरेकी थिइन्। यस फिल्ममा उनको अपोजिटमा निखिल उप्रेती नै थिए।
Shares

प्रतिक्रिया