मधुुसुधन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा तीन दाजुभाइको खटपटको वरिपरि कथा घुमेको छ।
एउटा गाउँका तीन दाजुभाइ विनोद न्यौपाने, कुशल विष्ट र फलित राई एकदमै मिल्छन्। उनीहरूका बुवाआमाले तीन भाइ कहिल्यै नछुटिनु भनेर बितेका हुन्छन्। बुवाआमाको भनाईलाई आत्मसाथ गर्दै अगाडि बढेका तीनै भाइ खेतबारी बारीमा होस् या कुनै काम। मिलेर गर्छन्। दाइले नकुटेको दिन किन आफूलाई दाइले कुटेनन् भनेर पनि गुनासो गर्छ।
जब विनोदका भाइ कुशल र फलितले बिहे गर्छन् त्यसपछि उनीहरूको सम्बन्धमा दरार आउँछ। भाइहरू छुट्टिनका लागि अंश माग्न थाल्छन्। जब अंशको कुरा सुरु हुन्छ त्यसपछि तीन दाजुभाइबीचको सम्बन्धमा चिसोपना आउँछ।
ट्रेलरमा फिल्मका मुख्य कलाकार अटाएका छन्। फिल्मलाई निर्देशक भट्टराईले कमेडी जनरामा मार्मिक कथा भन्न खोजेका छन्।
फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाई, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी लगायतको अभिनय छ। साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन्।
शिव ढकालले खिचेको फिल्मलाई बनिश शाहले सम्पादन गरेका हुन्। यो फिल्म चैत १३ गतेबाट प्रदर्शनमा आउँदै छ।
Shares

प्रतिक्रिया