जेठ १ गते रिलिज हुने ‘एक मुठी बादल’ले पहिलो गीत सार्वजनिक भएको छ।
फिल्ममा समावेश ‘रेल घुम्यो घुम्तीमा’ बोल गीत सार्वजनिक गरिएको हो।
गीतको भिडिओमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन्।
हर्क साउदको शब्द र सुमित पाठकको संगीत रहेको गीतमा मीना पोखरेल र इन्द्रकला राईको स्वर छ।
गीतले एकाघरमा रहेका तीनपुस्ते महिलाको आवाजलाई प्रस्तुत गरेको छ।
सुमित नेपाल आइडल सिजन २ उपविजेता हुन्। गायकका रूपमा पहिचान बनाएका सुमितले चलचित्र संगीतको सुरुवात गरेका हुन्।
भिडिओले विवाहको अघिल्लो दिन गरिने रमाइलोलाई पृष्ठभूमिका रूपमा प्रस्तुत गरेको छ।
विवाहको तयारीसँगै सुरु हुने गीतमा निशा शर्मा, उषा रजक र आँचल शर्माले आफ्नो जीवन भोगाइलाई गति दिएका छन्।
निर्देशक सहारा शर्माका अनुसार गीतमा अभिव्यक्त आवाज नै चलचित्रको सार हो।
उनले गीतकार हर्क साउदसँग विभिन्न चरणमा काम गरेको जानकारी गराउँदै गीतमा चलचित्रको कथा अटाउने चाहाना चुनौतीपूर्ण रहेको स्मरण गरिन्।
कृतिका बरालको कोरियोग्राफी, निहाल भण्डारीको छायांकन रहेको गीत कृष्ण भण्डारीले सम्पादन गरेका हुन्। भण्डारीले नै गीतको कलर ग्रेडिङ पनि गरेका हुन्।
फिल्ममा आँचल, निशा, उषा, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय छ।
यो फिल्म सहाराकै निर्देशन र लेखनमा बनेको हो। अभिमन्यु दीक्षितले निर्माण गरेको फिल्ममा निकुन श्रेष्ठ कार्यकारी निर्माता छन्।
निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल छन्।
चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप छ।
चलचित्रमा मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकका रूपमा काम गरेकी छन् भने उनलाई सहायकका रूपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन्।
चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन्।
फिल्मलाई नेपालमा आरआर फिल्म्स्ले वितरण गर्नेछ।
Shares

प्रतिक्रिया