कला


को हुन् ‘लालीबजार’को पोस्टरमा स्वस्तिमासँग देखिएका डेब्यु अभिनेता?

को हुन् ‘लालीबजार’को पोस्टरमा स्वस्तिमासँग देखिएका डेब्यु अभिनेता?

नेपालखबर
चैत १८, २०८२ बुधबार ११:४७, काठमाडौँ

आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

जसमा अभिनेत्री स्वस्तिमा खड्कासँग देखिएका छन्- डेब्यु अभिनेता विशाल देवकोटा। 

निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा स्वस्तिमा र विशाललाई जोडीका रूपमा प्रस्तुत गरिएको छ।

नेपालको रंगमञ्चमा अभिनेतासँगै निर्देशकका रूपमा चिनिएका विशाल ‘लालीबजार’मा अडिसनमार्फत छनोट भएका थिए।

उनको अभिनय कौशलताकै कारण डेब्यु फिल्ममै स्वस्तिमाको जोडी बन्ने अवसर प्राप्त गरेको निर्माण कम्पनी षट्कोण आर्ट्सको भनाइ छ।  

सानैदेखि कलाकार बन्ने सपना बोकेका विशाल नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढेका थिए। रंगमञ्चमा काम गर्दै अनुभव बटुलेका देवकोटाले त्यसैको निरन्तरतास्वरूप फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्।

विशाललाई पछिल्लो समय उदयीमान कलाकारका रूपमा हेरिएको छ। 

‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ’, उनले भने।

उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा नै फिल्म ‘लालीबजार’को टिमको ध्यान उनीतर्फ खिचिएको थियो। त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी फिल्ममा छनोट भएका हुन्। 

यसरी रंगमञ्चको अनुभवले नै फिल्मको ढोका खोलेको उनले बताएका छन्।

उनले भने, ‘मैले लास्ट टाइम कान्तिपुर थिएटरमा एउटा प्ले गरेको थिएँ ‘मीरा’मा। त्यो प्ले हेर्न प्रदीप भट्टराई सर, रविन दाइ अनि जेबी दाइ आउनुभएको थियो। उहाँहरूले हेरिसकेपछि एकचोटि अप्सनका लागि भनेर अफिसमा बोलाएर अडिसनको सिलसिलाहरू सुरु भएको थियो।’

रंगमञ्च र फिल्मको अभिनयमा भिन्नता हुने उनले बताए। रंगमञ्चमा एकैपटक पात्रलाई पूर्ण रूपमा जिउन पाइने भए पनि फिल्ममा भने दृश्यदृश्यमा टुक्रिएर अभिनय गर्नुपर्ने उनको अनुभव छ।

फिल्ममा कथावस्तु समाजको यथार्थसँग जोडिएको उल्लेख गरे।

भन्छन्, ‘यो हाम्रो समाजकै यथार्थमा आधारित कथा हो, जसले एउटा परिवेश र त्यहाँको माहोल प्रस्तुत गर्छ।’ 

देवकोटाले नाटकमा एकैपटक पात्रलाई जिउन पाइने तर फिल्ममा टुक्राटुक्रामा अभिनय गर्नुपर्ने अनुभव सुनाए।

नयाँ टिमसँग काम गर्दा पनि आफूलाई सहज भएको बताउँदै षट्कोण आर्ट्सजस्तो स्थापित ब्यानरबाट डेब्यु गर्न पाउनु आफ्ना लागि सौभाग्य भएको उनले बताए।

उनले दर्शकलाई ‘लालीबजार’ परिवारसहित हेर्न आग्रह गरे।

‘यो पारिवारिक रूपमा हेर्न मिल्ने, रमाइलो र नयाँ कथामा आधारित फिल्म हो। वैशाख १८ गतेदेखि नजिकका सिनेमा हलमा गएर हेर्नुहोस्’, उनले भने।

फिल्मको सार्वजनिक गीत ‘मायालाई के दिऊँ म बैना’लाई दर्शकले रुचाएका छन्। फेसबुक रिल्स, टिकटक भिडिओसँगै युट्युब सट्समा समेत उक्त गीतमा भिडिओ बनाउनेको संख्या बढ्दो छ।

बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय छ।

यही फिल्ममार्फत विशालसहित प्रशंसा सुवेदीले डेब्यु गर्दै छन्।

विशाल थिएटरमा काम गरिरहेका कलाकार हुन् भने प्रशंसा जेनजी अभियन्ताका रूपमा चर्चित छिन्।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्।

फिल्मको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad