नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौँमा सुरु भएको छ। बिहीबार हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै निफ सुरू गरिएको हो।
सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटन समारोहमा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रुपमा उपस्थित थिइन्। समारोहमा नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मी, नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेलपिटिया, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र भारतीय निर्देशक तथा निर्माता रमेश सिप्पी विशेष अतिथिका रुपमा उपस्थित थिए।
कार्यक्रममा बोल्दै सचिव बस्नेतले नेपाली फिल्मको बजार र अन्य चलचित्र उद्योगसँग सम्बन्ध विस्तारमा निफले सहयोग पुग्ने आशा व्यक्त गरिन्। नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोगले निफलाई सफलताको शुभकामना दिए।
नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मीले निफलाई सफलताको शुभकामना दिँदै आफू यस महोत्सवमा तेस्रो पटक सहभागी भएको बताए। बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पीले एआईको वर्तमान समयमा चलचित्र महोत्सवबारे महत्त्वबारे बोलेका थिए।
निफमा ४० देशका ८८ वटा फिल्म प्रदर्शन गरिने तय भएको छ। ६ वटा चिनियाँ र ४ वटा रुसी फिल्म प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने निफका अध्यक्ष केपी पाठकले जानकारी दिए।
रसियन हाउसमा रसियन फिल्म डेज आयोजना गरिनेछ। अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्म निःशुल्क हेर्न पाइनेछ।
यसपटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ। जसअन्तर्गत ६ वटा चिनियाँ सिनेमा र वृत्तचित्र प्रदर्शन गरिनेछ। पर्यटन बोर्ड र छायाँ सेन्टरमा यी फिल्महरू निःशुल्क हेर्न पाइनेछ।
त्यस्तै, सिभिल मल र छाया सेन्टरमा भने सशुल्क प्रदर्शन गरिनेछ। निफ अन्तर्गत १० वटा अन्तर्क्रियात्मक कार्यकम राखिएको छ। जसमा विभिन्न देशका मेकरले आफ्नो अनुभव सेयर गर्नेछन्। निफ चैत २३ गतेसम्म चल्नेछ।
Shares

प्रतिक्रिया