चर्चामा रहेको चलचित्र ‘महाराजधिराज’मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन्।
निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको विशेष पोस्टर समेत सार्वजनिक गरेको छ। लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ला भन्ने कौतुहलतालाई मेटाउँदै निर्माण टिमले पुष्पको नाम सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा पुष्पलाई दुई वटा विपरीत र शक्तिशाली लुक्समा देखाइएको छ।
एउटा तस्बिरमा पुष्प पूर्ण राजकीय ठाँटमा देखिएका छन्। उनले शिरमा श्रीपेच, हातमा राजदण्ड र शरीरमा राजर्षि पहिरन लगाएका छन्, जसले उनी चलचित्रमा राजाको भूमिकामा रहेको स्पष्ट संकेत गर्छ। तर, अर्को तस्बिरमा भने उनी शारीरिक रूपमा अत्यन्तै दुब्लो एवं कमजोर अवस्थामा देखिएका छन्।
एक ‘भिन्जेट’ कुर्सीमा बसेका ती कमजोर पात्रको पछाडि राजाको पोसाकमा सजिएका पुष्प उभिएका छन्। यी दुई अवतारले चलचित्रको कथावस्तु निकै गहिरो र प्रतिकात्मक रहेको बुझ्न सकिन्छ।
निर्माण पक्षले पोस्टरका साथमा एउटा अर्थपूर्ण स्लोगन पनि सार्वजनिक गरेको छ, ‘सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस्।’
पुष्पले यो चलचित्रमा अनुबन्ध हुँदा आफ्नै औंलाबाट रगत निकालेर औंठा छाप लगाएका थिए। सामान्यतया कलाकारले कागजमा हस्ताक्षर गरेर चलचित्र साइन गर्ने चलन छ।
पुष्पले यो भूमिकालाई आफ्नो करिअरको सबैभन्दा ठूलो अवसर र चुनौतीका रूपमा लिएका छन्। उनले चलचित्रको निर्माण अवधिभर अन्य कुनै पनि चलचित्र, म्युजिक भिडिओ मात्र होइन, टिकटक, इन्स्टाग्राम र युट्युब भिडिओ जस्ता कुनै पनि दृश्य सामग्रीमा संलग्न नहुने घोषणा गरेका छन्।
वैशाखको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको लाइनअप निर्देशक सेनले निकै बलियो बनाएका छन्। यस फिल्ममा पुष्पसहित नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायतको अभिनय छ।
निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन्। पुराना र नयाँ पुस्ताका कलाकारको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले नयाँ र अग्रज गर्दै अभिनयमा अब्बल कलाकार आफूहरूको पहिलो रोजाइमा परेको बताए। कलाकारको बलियो लाइनअप अनुसार नै सिनेमा पनि बलियो बजाउने उनको भनाइ छ।
चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरिनेछ। त्यसपछि काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानमा चलचित्र खिचिनेछ। नवराज थापाले छायांकन गर्नेछन्।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ। ‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन्। ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ।
Shares

प्रतिक्रिया