दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनमा बन्ने फिल्म ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन्। निर्माण पक्षले बुधबार आशीर्वादलाई चलचित्रको मुख्य भूमिकाका लागि अनुबन्धित गरेको हो।
यसअघि नै ‘चिरञ्जीवी भवः’ बाट मोडल प्रशंसा रायमाझी यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्ने पक्का भइसकेको छ। गत आइतबार निर्माण टिमले एक पोस्टरमार्फत प्रशंसालाई फिल्ममा स्वागत गरेको जानकारी दिएको थियो ।
आशीर्वाद यस चलचित्रमा प्रशंसाको जोडीका रुपमा देखिने हुन् या हैनन् टिमले कुनै जानकारी खुलाएको छैन ।
यस फिल्मको घोषणा नयाँ वर्ष २०८३ को अवसर पारेर गरिएको थियो। दीपकप्रसाद आचार्यको निर्देशन रहने यस चलचित्रको कथा कुमार कट्टेलले तयार पारेका हुन्। चलचित्रको लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने रहेका छन् ।
सामाजिक ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भवः’ ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ ।
लेखक कुमार कट्टेलका अनुसार फिल्मको कथा अहिलेकै समयको परिवेशमा आधारित छ ।
उमेश कुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा कुमार कट्टेल र शैलेश खत्री छन् ।
‘चिरञ्जीवी भवः’ दीपकप्रसाद आचार्यको दोस्रो निर्देशकीय सिनेमा हुनेछ। यसअघि उनको डेब्यु निर्देशनमा बनेको फिल्म ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो।
कुमार कट्टेलको निर्देशन र अभिनय रहेको ‘लाज शरणम्’ ले पनि व्यावसायिक रूपमा राम्रो सफलता हासिल गरेको थियो ।
फिल्मको छायांकनका लागि बाँकी कलाकार र प्राविधिक टोलीको छनोट कार्य भइरहेको निर्माण पक्षले जनाएको छ।
Shares

प्रतिक्रिया