वैशाख २५ गतेबाट रिलिज हुने फिल्म ‘मालती मंगले’ को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरको लबिम मलस्थित क्यूएफएक्स सिनेमाजमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा मंगले (विजय बराल) र मालती (वर्षा राउत) बीचको प्रेम कथा, उनीहरूको सम्बन्धमा आउने दरार र पारिवारिक खटपटलाई प्रस्तुत गरिएको छ। यसैगरी, अभिनेता मेक्सम गौडेललाई हरि नामक नेगेटिभ चरित्रमा देखाइएको छ भने साथीभाइबीचको सुमधुर सम्बन्ध र त्यसमा आउने उतारचढावलाई पनि ट्रेलरमा स्थान दिइएको छ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्म प्रकु पाण्डेयको निर्देशनमा बनेको हो। फिल्मको कथा स्वयं निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।
फिल्ममा विजय, वर्षा र मेक्समसहित प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङलगायतका थुप्रै कलाकारहरूको अभिनय रहेको छ।
यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्।
महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको यस चलचित्रको प्राविधिक पक्ष निकै उत्कृष्ट रहेको छ।
Shares

प्रतिक्रिया