कला


‘एक मुठ्ठी बादल’ मा डेब्यु गर्न ५ वर्ष कुरेका अविरल प्रताप अधिकारी

‘एक मुठ्ठी बादल’ मा डेब्यु गर्न ५ वर्ष कुरेका अविरल प्रताप अधिकारी

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १२:३५, काठमाडौँ

आउँदो जेठ ८ गते प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’मा अविरल प्रताप अधिकारीले डेब्यु गर्दै छन्। यस फिल्मभित्र परिवारका कान्छा सदस्य उनी सुटिङ युनिटमा पनि सबैभन्दा कान्छो सदस्य नै थिए। यद्यपि, फिल्ममा भने सबैभन्दा पहिला अडिसन दिनेमा अविरल हुन्।

विश्वका विभिन्न ल्याब हुँदै बनेको फिल्मको पटकथालाई अहिलेको स्वरुपमा ढाल्न ६ वर्ष लागेको जनाएको छ। यही क्रममा निर्माण टिमले ‘भाइ’को चरित्रको लागि अविरलको अडिसन लिएको थियो।

‘त्यतिबेला म जम्मा १७ वर्षको थिएँ। न अभिनयको ज्ञान थियो न त पूर्व अनुभव। दुई पेजको सिन आफ्नो विवेकले अभिनय गरेर पठाएको थिएँ। निर्देशक सहारा दिदीले पछि खबर गछौँ भन्नु भएको थियो,’ अडिसनबारे सम्झिँदै उनले भने, ‘त्यसको ५ वर्षपछि बल्ल खबर आयो। फेरि एक चोटि अडिसन दिएपछि बल्ल मैले यो चलचित्रमा काम गर्ने अवसर पाएँ।’ 

अडिसनबाट छानिएको दिनलाई उनले जीवनकै अविस्मरणीय क्षणको रुपमा लिएका छन्। किनकि फिल्ममा अभिनय गर्ने उनको सपना मात्र यो चलचित्रले पूरा गरेको थिएन, जीवनको पहिलो प्लेन पनि चढाएको थियो।

‘यो चलचित्रको सुटिङमा पोखरा जाँदा मैले पहिलो पटक प्लेन चढेको थिएँ। एडभेन्चर लागेको थियो। त्योबाहेक यो चलचित्रको सेटको अनुभव पनि स्मरणीय रह्यो। सुटिङ सकिएको दिन त म भावुक भएर रोएको पनि थिएँ,’ उनले भने। 

चर्चित कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारी अविरलका हजुरबा हुन् भने कार्यक्रम निर्देशक एवं कमेन्टेटर अमनप्रताप अधिकारी बुबा। परिवारको यही बिरासत पछ्याउँदै उनले नाटक हुँदै चलचित्रमा पाइला चालेका हुन्। ‘एक मुठ्ठी बादल’ पछि उनले ‘पारी बुटोल’ मा पनि महत्त्पूर्ण भूमिकामा देखिँदै छन्। 

आफ्नो चरित्रलाई धेरै दिदीभाइले रिलेट गर्ने अविरल बताउँछन्। अविरलका अनुसार आफ्नो मात्र होइन चलचित्र भित्रका हरेक सदस्यले हाम्रो परिवारका भिन्न भिन्न सदस्यको आत्मा समातेका छन्। जुन चरित्र हेरे पनि दर्शकलाई आफूले देखेको महसुस हुने अविरलको बुझाइ छ।

‘यसको पटकथा नै नेपाल भरिका सम्पूर्ण परिवारमाथि रिसर्च गरेर लेखे जस्तो छ। त्यसैले यसका हरेक चरित्र वास्तविक लाग्छन्। यसमा भाइको चरित्र अझ स्पेसल छ,’ अविरलले हाँस्दै सुनाए।

सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा अविरलसहित आँचल शर्मा, निशा शर्मा, शेखर चापागाँई, उषा रजक, मनिष निरौला, गौरव बिष्ट, सहयोग राज अधिकारी, भिमा मैनाली, अस्मिता गौतम लगायतको अभिनय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad