फिल्म ‘रोल नं १’ को निर्माण टिम फिल्मको प्रचारप्रसार गर्न मोफसलतिर लागेको छ। पहिलो चरणमा निर्माण टिम पूर्वी नेपाल पुगेको हो।
विद्यार्थीलाई भेट्न मोफसल पुगेको चलचित्रको निर्माण टिमले प्रचारको स्लोगन नै ‘हामी आउँदै छौँ तपाईंको कक्षाकोठामा सुन्न तपाईंको मन कुरा...’ राखेको छ। फिल्मको नारा ‘हरेक विद्यार्थी’को कथा रहेको छ।
विद्यालयमा चलचित्रका कलाकार र गायक पुगेर सिनेमा ‘रोल नं १’बारे कुरा गर्न सुरु गरेका छन्। विद्यार्थीका कुरा पनि सुन्न थालेका छन्।
पूर्वी नेपालका झापा, मोरङ र सुनसरीका विद्यालयमा पुगेर कलाकारले विद्यार्थीसँग अन्तरक्रिया गर्दै सिनेमाको प्रचार सुरु गरेका छन्। विद्यार्थीसँग अन्तरक्रिया गर्न मुख्य कलाकार मुकुन भुसाल, रेणु योगी तथा गायक तथा संगीतकार प्रशान्त शिवाकोटी, कर्मा लामा पुगेका छन्।
विनोद पौडेल निर्माता रहेको फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्छ। अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको निर्माण पक्षले बताएको छ।
गलत शैक्षिक प्रणाली र अभ्यासले आम विद्यार्थीमा परिरहेको नकारात्मक असरलाई यो सिनेमाले देखाउने निर्माता विनोद पौडेलले बताएका छन्। त्यसैले विद्यालयलाई प्रचारका लागि लक्षित गरिएको उनले बताए।
जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ। चलचित्रको बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन्।

प्रतिक्रिया