लघु चलचित्र ‘जाली भान्जा’ आइसल्याण्डमा प्रिमियर भएको छ। विदेशी भूमिमा बसेर पनि नेपाली गाउँघरको मिठास, सम्बन्धको आत्मीयता र मनोरञ्जनको स्वाद दिलाउने उद्देश्यले फिल्मको विशेष प्रिमियर गरिएको हो।
प्रसुन फिल्म्स को प्रस्तुति रहेको उक्त चलचित्र युट्युबमार्फत सार्वजनिक गर्नुअघि आइसल्याण्डको राजधानी रेक्याभिक मा नेपाली समुदायबीच विशेष प्रदर्शन गरिएको थियो। कार्यक्रममा नेपाली दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रदर्शनपछि निर्माण टिमसँग अन्तरक्रिया समेत गरिएको थियो ।
प्रिमियरमा सहभागी दर्शकहरूले चलचित्रको कथा, अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए। विशेषगरी चलचित्रमा समेटिएको नेपालको टिपिकल गाउँघरको परिवेश, मामाभान्जाको सम्बन्ध र नेपाली समाजको मौलिकपनले आफूहरूलाई आफ्नै गाउँघर पुगेको अनुभूति गराएको दर्शकहरूको प्रतिक्रिया थियो ।
निर्देशक प्रकाश तिवारी पिकेले यस फिल्मले मनोरञ्जनसँगै समाजको वास्तविक चरित्र देखाउने प्रयास भएको बताए। उनले चलाख भान्जा र सोझो मामाको कथामार्फत विश्वास, छलकपट, सम्बन्ध र मानवीय व्यवहारलाई हल्का व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको सुनाए।
यस फिल्ममा निर्देशक तिवारीसँगै सबिन बास्तोला, सुनिल बास्तोला, रुद्रप्रसाद बास्तोला लगायतको अभिनय रहेको छ।
प्रिमियरका क्रममा निर्माताद्वय प्रमोद अधिकारी र सुलोचना दुवाडीले नेपाली मौलिक कथावस्तुमा आधारित चलचित्र निर्माणलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
Shares

प्रतिक्रिया