चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै निवेदन दिएकी वादी अभियन्ता डा. रोशनी नेपाली पक्राउ परेकी छन्।
बुधबार प्रहरीले सर्वोच्च अदालतबाटै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
‘सर्वोच्च अदालतको इजलासमै हुलहुज्जत गरेपछि उहाँलाई हामीले नियन्त्रणमा लिएका हौँ। अहिले उहाँलाई सिंहदरबार वृत्तमा राखिएको छ’, एसपी भट्टराईले नेपालखबरसँग भने।
राशनीले लालिबजार चलचित्र प्रदर्शनमा रोक लगाउन माग गर्दै दायर गरेको निवेदन बुधबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भएको छ। सुनुवाइ सकिइसके पनि आदेश आउन बाँकी छ।
यसअघि उच्च अदालत पाटनले चलचित्र प्रर्दशमा रोक लगाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर दोहोरो छलफलपछि अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै चलचित्र प्रदर्शन भइरहेको छ। उच्च अदालतले अन्तरिम आदेश नदिएपछि उच्चको आदेशविरुद्ध नै रोशनीले सर्वोच्चमा निवेदन दिएकी हुन्।
चलचित्रका विषयवस्तुले वादी समुदायको भावनामा चोट पुर्याएको भन्दै प्रदर्शनमा रोक लगाउनु पर्ने नेपालीको दाबी छ। तर चलचित्र निर्माताले भने चलचित्रमा त्यस्ता विषयवस्तु नरहेको र आफ्नो उदेश्य पनि त्यस्तो नभएको दाबी गर्दै आएका छन्।
Shares

प्रतिक्रिया