दाङका चलचित्रकर्मीद्वारा स्थानिय रुपमै निर्मित फिल्म ‘इहिरी’ र ‘द रिचुअल’ काठमाडौँमा प्रदर्शन हुने भएका छन्। रोल्पाका मगर समुदायको मौलिक परिवेशमा आधारित यी फिल्म शुक्रबारदेखि काठमाडौँको थापाथलीस्थित ऐरावत पिक्चर हाउसमा प्रदर्शन हुँदै छ।
यी दुवै चलचित्र दाङका चलचित्रकर्मी विशाल रोका मगरले निर्देशन गरेका हुन्। ‘द रिचुअल’ यस अघि भक्तपुर फिल्म फेस्टिबल र काठमाडौँ हरर फिल्म फेस्टिबलमा पनि छनोट भएको थियो।
यसमा समाजमा सहरी तिव्रताबीच दोधारमा परेको स्थानीय रितिथितिको विषयमा केन्द्रित छ। मगर समुदायको झाँक्री परम्परालाई स्तम्भ मानि कथावस्तु बनाइएको छ।
अर्को चलचित्र ‘इहिरी’ पहिलोपटक प्रदर्शन हुन लागेको हो। रोल्पाको उपल्लो क्षेत्रमा छायाङ्कन भएको फिल्म झण्डै १० वर्ष लगाएर बनाइएको हो। रोल्पाका खाम मगर समुदायको जिवनशैलीलाई देखाइएको छ।
निर्देशक मगर यस अघि बनाएको ‘लाहुरेनी’ डकुमेन्ट्रीबाट चर्चामा आएका थिए। ‘लाहुरेनी’ले सन् २०२१ को फिल्म साउथ एशियामा उत्कृष्ट डेब्यु फिल्ममेकर अवार्ड प्राप्त गरेको थियो।
‘सिनेमाज अफ दाङ’ नामकरण दिइएको विशेष प्रदर्शनी एक सातासम्म चल्नेछ। पिक्चर हाउस डक्स्कुलद्वारा स्थानिय चलचित्र र युवा चलचित्रकर्मीलाई प्रवर्द्धन गर्ने उद्देश्यले जनवरीबाट सञ्चालनमा ल्याइएको छ।
Shares

प्रतिक्रिया