संसारको शिर सगरमाथामा उभिएर फर्किएकी एउटी युवती, जब आफ्नै घरको आँगनमा पाइला टेक्छिन् र आमाले पस्किदिएको तातो भातको थाली देख्छिन्, उनका आँखा अनायासै भरिन्छन्। ती आँसुमा हिमालको ठिही थियो, सफलताको न्यानोपन थियो र जीवनको एउटा नयाँ बोध थियो। उनी अर्थात्– कविता नेपाली।
स्टेजको झिलिमिली प्रकाशमा दुनियाँ नचाउने कविता र सगरमाथाको शून्यतामा आफैँलाई खोज्ने कविताको व्यक्तित्वमा आज एउटा परिपक्वता देखिन्छ।
कविताका लागि सगरमाथा आरोहण केवल सपना थिएन, त्यो त पुनर्जन्म जस्तै थियो। हिमालबाट फर्केपछि उनी पहिलेको जस्तो रहिनन्।
‘सगरमाथा चढेर फर्केपछि म जब पहिलो पटक घर पुगेँ, आमाले पकाएको भात खाँदा मेरो आँखाबाट आँसु खसेको थियो,’ नेपालखबर सेलिब्रेटी सो ‘लेट्स टक’मा आफ्नो त्यो भावुक क्षण सम्झिँदै कविताले भनिन्, ‘पानीको एउटा थोपा र एक गाँस भातको मूल्य के हुन्छ, हिमालमा भोगेर आएपछि मात्र थाहा भयो। हामीले यहाँ साना ठानेका चिजहरू त्यहाँ कति ठूला हुँदा रहेछन्। त्यसपछि म धेरै ग्राउन्डेड र सेन्सेटिभ भएकी छु।’
सगरमाथाको कठिन यात्रामा कविताले हिमालको सुन्दरता मात्र होइन, त्यहाँका भयावह दृश्यहरू पनि नजिकबाट देखिन्। ‘डेथ जोन’ भनिने उचाइमा उनले कतिपय आरोहीहरूको शवहरू देखिन्, जसले उनलाई जीवनको अनिश्चितता र क्षणभङ्गुरताबारे सोच्न बाध्य बनायो। त्यहाँको जोखिमपूर्ण बाटो र मानिसहरूको संघर्षले उनलाई जीवनको वास्तविकता बुझायो।
‘भयावह दृश्यहरू देखियो। कोही हिँडिरहेको छ, कोही शव बोकेर फर्किरहेको हुन्थ्यो। त्यो सबै हेर्दा लाइफ के रहेछ भन्ने महसुस हुन्थ्यो। कति जनाले त त्यहाँ मर्नलाई त जाने हो नि भनेर पनि भनिरहेका हुन्छन्, तर त्यस्तो पनि होइन भन्ने लाग्छ,’ उनले भनिन्।

आरोहणका क्रममा धेरै पटक यस्तो समय आयो जब कवितालाई अब सक्दिनँ कि भन्ने लाग्यो। तर, पासाङ ल्हामु शेर्पा, पूर्णिमा श्रेष्ठ जस्ता साहसी महिलाहरूको सम्झनाले उनलाई अगाडि बढ्न प्रेरित गर्यो। ऐना हेर्दा आफैँलाई प्रश्न गर्न नपरोस् भन्ने डरले उनलाई चुचुरोसम्म पुर्याएरै छाड्यो।
‘बीचबीचमा त कस्तो डर लाग्यो, धेरैपटक फर्कौँ कि भन्ने पनि लाग्यो,’ उनले भनिन्, ‘तर एउटा सपना बोकेर आइसकेपछि बीचमा गरिनँ भने त आफैँलाई धिक्कार हो नि, पछि मैले त ट्राइ पनि गरिनँ भन्ने हुन्छ भनेर हिम्मत हारिनँ। आफैलाई प्रश्न गरेँ– यत्तिकै फर्किएँ भने त भोलि ऐनामा आफूले आफैँलाई हेर्दा के भन्ने? अलिकति बल गरौँ, अलिकति बल गरौँ, ट्राइ त गरौँ भन्दाभन्दै चुचुरोमा पुगियो।’
हिमाल आरोहणले कवितालाई आफू कति शक्तिशाली छु भन्ने महसुस गरायो। पहिला अरूका लागि काम गर्ने उनी अहिले आफूलाई बढी माया गर्न थालेकी छिन्।
‘अहिले त आफ्नो असाध्यै माया लाग्छ। तिमीले यति गर्यौ, तिमीले यति भोग्यौ, तिमी अझ गर्न सक्छौ भनेर मोटिभेसन आएको छ। म अझ धेरै सेन्सेटिभ भएको छु, अझ धेरै ग्राउन्डेड भएको छु,’ कविताले भनिन्।
धेरैलाई थाहा नहुन सक्छ, कविता चर्चित हुनुअघि मार्सल आट्र्सको एउटा अब्बल खेलाडी थिइन्। उनी उसुको जुनियर नेसनल प्लेयर थिइन्। तर, खेलको मैदानमा लागेको एउटा चोटले उनको जीवनको लय नै बदलिदियो।
त्यो क्षणलाई सम्झिँदै उनी भन्छिन्, ‘जब लिगामेन्ट इन्जुरी भयो, त्यसपछि ब्रेक लिनुपर्ने अवस्था आयो। अनि डान्स क्लास ज्वइन गरेँ र त्यहीँबाट कलाकारिताको यात्रा सुरु भयो।’
उनलाई लाग्छ, जीवनमा जे हुन्छ, राम्रैका लागि हुन्छ।
‘यदि त्यो दिन इन्जुरी नभएको भए म आज कलाकारितामा हुन्नथेँ होला,’ उनले भनिन्, ‘मैले एउटा कुरा सोचिरहेकी हुन्थेँ, तर भगवानले मेरो लागि अझ ठूलो र राम्रो योजना बनाउनुभएको रहेछ। अहिले फर्केर हेर्दा लाग्छ– त्यो इन्जुरी मेरा लागि एउटा वरदान साबित भयो। त्यसले मलाई झन् सहज र बलियो बनायो।’

अहिले कविता अभिनित एक्सन वेब सिरिज ‘साहु बा’ले युट्युबमा चर्चा बटुलिरहेको छ। धेरैलाई थाहा नभएको पाटो, यो सिरिजमा उनकै लगानी पनि छ।
‘लगानी भनेको पैसा मात्र होइन, श्रम र पसिना पनि हो,’ कविता सुनाउँछिन्, ‘हल्ला त धेरै भयो जग्गा नै बेचेर लगानी गरेको भन्ने, तर सत्य के हो भने हामी सबै साथीहरू मिलेर आफ्नो क्षमताले भ्याउने लगानी गरेका छौँ। सबैले केही न केही बेचेर या ऋण लिएर लगानी गरेका हुन सक्छन्। यो सिरिजले समाजको त्यो ‘आठौँ प्रदेश’ देखाउन खोजेको छ, जुन हाम्रो वरपर भएर पनि अदृश्य छ।’
हामीले कवितालाई सोध्यौँ– प्रधानमन्त्री बालेन शाहको डोजर– साहसिक कदम कि कठोर निर्णय? सुकुम्बासी बस्तीमा चलाएको डोजरबारे गरेको जिज्ञासामा कविताले निकै सन्तुलित तर स्पष्ट जवाफ दिइन्।
‘कठोर निर्णय होला। उहाँलाई पनि त्यत्तिकै कसैको बसिरहेको घर भत्काउने रहर थिएन होला,’ उनले भने, ‘जहाँसम्म मलाई लाग्छ, बालेन सरले एउटा आशा जगाउनुभएको छ, त्यो राम्रो हो। सुकुम्बासी बस्ती हटाएपनि त्यसको व्यवस्थापन हुनुपर्छ। पानी परेको बेला त्यहाँ मान्छेहरू पानीमा रुझेर बस्नुपर्ने अवस्था थियो। अब राम्रो व्यवस्थापन होला भन्ने आशा छ।’
‘बुगी वुगी’ डान्स रियालिटी सो जितेपछि कलाकारितामा चर्चामा आएकी कविता हिमालय रोडिज सिजन ७ को ग्याङ लिडरसमेत भइन्। त्यसअघि डान्स रियालिटी सोको जज हुने अवसर पनि पाएकी थिइन्। तर, त्यो कुर्सी उनले बीचमै छाडिदिइन्। यसको पछाडि उनको एउटा गहिरो असन्तुष्टि थियो।
‘जब एउटा रियालिटी सोमा १०० प्रतिशत भोटिङकै आधारमा निर्णय हुन्छ भने त्यहाँ जजको मूल्यांकनको के काम? केवल कुर्सी ओगट्न र टेलिभिजनमा देखिनका लागि म त्यहाँ बस्न सकिनँ। जजको मूल्यांकनको भ्यालु नहुने ठाउँमा बस्नुभन्दा छोड्नु नै उचित लाग्यो,’ कविताले रियालिटी सोको एउटा रियल पाटो उजागर गरिन्।
ग्लामरको संसारमा रहेर पनि कविता आफैँभित्रको एकान्तमा रमाउन रुचाउँछिन्। भिडभाड भन्दा पनि आफ्नै घरको नजिकैको जंगल र शान्ति उनलाई प्यारो लाग्छ।
सम्बन्ध र प्रेमबारे उनी भन्छिन्, ‘म ‘अलोन’ छु तर ‘लोनली’ छैन। म आफैँसँग रमाउन सक्छु।’

प्रेमको प्रसंगमा उनी अलि लजाउँदै तर गम्भीर हुँदै थप्छिन्, ‘मैले आफ्नो स्वाभिमान नै बिर्सिएर कसैलाई माया गरेकी छु, त्यो अनुभवले मलाई परिपक्व बनायो। अब चाहिँ प्रेमको विषय प्राइभेट नै राख्न चाहन्छु। धेरै सार्वजनिक गर्दा आँखा लाग्छ क्या! इन्गेजमेन्टको औँठी लगाएपछि मात्र सबैलाई थाहा दिँदा पो मज्जा!’
कविताले फिल्म वृत्तमा रिजेक्सन र अन्य प्राविधिक कारणले फिल्म रोकिँदाको तीतो अनुभव सँगालेकी छिन्। उनले केही फिल्मका लागि अडिसन दिएर पनि छनोट नभएको र केही ठूला प्रोजेक्टहरू साइन गरेर पनि अन्तिम समयमा काम हुन नसकेको बताइन्। कहिले भूमिका नमिलेर त कहिले निर्माण पक्षको कमजोरीका कारण उनले यस्ता समस्या भोग्नुपरेको थियो।
‘कुनै चाहिँ आएको प्रस्तावहरू चित्त नबुझेर हो, कुनै चाहिँ मुभी साइन गरेर पैसा लिएर नभएको हो। के थाहा अब इन्डस्ट्रीको कुरा?’ उनले भनिन्।
धोका दिन प्रेमी ठिक कि झुट बोल्ने नेता? कवितालाई लाग्छ, बरु धोका दिने प्रेमी नै ठिक तर नेताले झुट नबोलून्।
‘धोका दिने प्रेमी ठिक हो। प्रेमले धोका दियो भने मलाई मात्र घात हुन्छ, तर नेताले झुट बोल्यो भने त पूरै देशलाई घात भयो नि। त्यत्रो मान्छेको रिस्क नलिऊँ, बरु म त सम्हालिन्छु नि,’ उनले भनिन्।
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया