आगामी जेठ ८ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘काजी’ यतिखेर चर्चामा छ। चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन्।
यसैबीच, अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन्। उनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित भएको सुनाए।
उनका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो। चलचित्रले प्रेमलाई केवल ठूला संवाद वा भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको उनले बताए।
श्रीमान-श्रीमतीबीचको समझदारी, त्याग र सँगै खुशी भएर बाँच्ने भावनालाई चलचित्रको केन्द्रमा राखेको उनको भनाइ छ। ‘साना–साना कुरामा पनि प्रेम प्रकट हुन्छ। श्रीमतीको खुशीमा आफ्नो खुशी खोज्ने, एकअर्काका लागि त्याग गर्ने यस्ता सूक्ष्म भावनालाई ‘काजी’ले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छ,’ विपिनले भने।
उनका अनुसार चलचित्रले प्रेमलाई केवल संवाद वा भावनामा सीमित नगरी व्यावहारिक जीवनका साना–साना पक्षमा खोजेको छ। ‘ठूला–ठूला प्रेमका कुरा मात्रै होइन, व्यवहारका साना कुरामा पनि प्रेम हुन्छ। यही कुरा काजीले सूक्ष्म ढंगले देखाएको छ,’ उनले भने, ‘मलाई लाग्छ फिल्म हेरेपछि दर्शकले काजी-कजिनीको प्रेम पो प्रेम भन्नुहुनेछ।’
विपिनले आफू पनि वैवाहिक जीवन बाँचिरहेको व्यक्ति भएकाले पात्र बुझ्न धेरै कठिन नभएको अनुभव सुनाए। यस फिल्मले २०५० सालअघिको रहेको परिवेश र आफूले निभाएको पात्र ‘काजी खानदान’ को विरासत बोकेको युवक भएको उनले बताए।
प्रेममा डुबेको, बाहिरी संसारसँग खास सरोकार नराख्ने पात्र आफूले यसअघि नगरेको भन्दै उनले यसलाई चुनौतीपूर्ण र नयाँ अनुभवका रूपमा लिएको बताए। उनले दर्शकलाई ‘काजी’ हेर्न आग्रह गर्दै यो चलचित्रले निराश नबनाउने विश्वास व्यक्त गरे।
‘यो घर–घरको कथा हो। दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ। अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोणको चलचित्र हो,’ उनले भने।
लक्ष्मण रिजालको निर्देशनमा रहेको यस फिल्ममा विपिन, केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा रहेको यस फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन्।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेका छन्।
Shares

प्रतिक्रिया