कला


कान्समा ‘एलिफेन्ट्स इन द फग’ को वर्ल्ड प्रिमियर, हलिउड म्यागजिनदेखि अनुराग कश्यपले गरे प्रशंसा

कान्समा ‘एलिफेन्ट्स इन द फग’ को वर्ल्ड प्रिमियर, हलिउड म्यागजिनदेखि अनुराग कश्यपले गरे प्रशंसा

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १२:१०, काठमाडौँ

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को बुधबार वर्ल्ड प्रिमियर भएको छ।

प्रिमियरअघि निर्देशक अविनाश विक्रम शाहसहित फिल्मका मुख्य कलाकारहरू पुष्प थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, चयन अधिकारीलगायत कान्सको रेड कार्पेटमा प्रस्तुत भएका थिए।

कान्समा फिल्मको प्रिमियर शो हेरेसँगै विश्वका चर्चित ‍चलचित्रकर्मीले ‘एलिफेन्ट्स इन द फग’ को तारिफ गरिरहेका छन्।

प्रिमियर सकिएसँगै हलमा उपस्थित सबैजनाबाट यस फिल्मको तारिफमा ८ मिनेट लामो 'स्ट्यान्डिङ ओवेसन' पाएको थियो। जुन माहोलले कान्सको हलको माहोलनै गुञ्जायमान बन्यो।

भारतका चर्चित निर्देशक अनुराग कश्यपले बुधबार लेटरबक्सडी (फिल्महरूको मूल्याङ्कन र समीक्षा गर्ने प्लाटफर्म) मार्फत फिल्मको खुलेर प्रशंसा गरेका छन्। 

कान्समा अहिलेसम्म हेरेकोमध्ये उत्कृष्ट फिल्म बताउँदै यस फिल्मबाट नेपाली फिल्मले फड्को मारेको उनले उल्लेख गरेका छन्। ‘कान्समा अहिलेसम्म मैले देखेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य यही हो। एलिफेन्ट्स इन द फग मार्फत नेपाली फिल्मले ठूलो फड्को मारेको छ,’ उनले लेखेका छन्, ‘दीपक रौनियारका ह्वाइट सन र पूजा, सर तथा मीनबहादुर भामका कालो पोथी र शाम्बालापछि अविनाश विक्रम शाहले लेखकबाट एक उत्कृष्ट फिल्म निर्देशकका रूपमा अत्यन्त सुन्दर रूपान्तरण गरेका छन्।’

अनुरागले फिल्मकी मुख्य अभिनेत्री पुष्पा थिङको अभिनयको पनि प्रशंसा गरेका छन्। पुष्पाले फिल्ममार्फत आफूलाई अत्यन्त शक्तिशाली कलाकारका रूपमा प्रस्तुत गरेको उनको भनाइ छ।

अनुरागसँगै लेटरबक्सडीमार्फत विश्वका अन्य फिल्मकर्मीले पनि ‘एलिफेन्ट्स इन द फग’को प्रस्तुतिकरणदेखि विषयवस्तुसम्मको तारिफ गरेका छन्। 

कान्समा प्रिमियर भएसँगै केही अन्तर्राष्ट्रिय मिडियामा फिल्मको समीक्षा पनि प्रकाशित भएको छ। प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले एक ट्रान्सजेन्डर समुदायमाथि आधारित मनछुने फिल्म भनेर लेखेको छ। निर्देशक अविनाश विक्रम शाहले दक्षिण एसियामा ट्रान्स पहिचानप्रतिको स्वीकृतिको लेनदेनमुखी स्वरूपलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको समीक्षामा उल्लेख छ। 

अविनाशको लेखन र निर्देशन रहेको यो फिल्म कान्सको प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’ विधातर्फ छनोट भएको हो। ‘एलिफेन्ट्स इन द फग’मा जंगली हात्तीहरूको आतंकबाट आक्रान्त हुने बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने एउटा परिवारको कथा प्रस्तुत गर्छ। 

यो फिल्मले २०८१ सालमा ६ लाख नर्वेजियन क्रोनर (झन्डै ७६ लाख रुपैयाँ)को ‘सरफन्ड ग्रान्ट’ जितेको थियो। यस फिल्ममा पुष्पासहित दिपीका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डेलगायत कलाकार छन्। गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा, अनिल कुर्मी, आकांक्षा कार्कीलगायतको पनि फिल्ममा अभिनय  छ।

जयन्ती क्रिएसनबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, प्रचण्डमान श्रेष्ठ निर्माता छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता रहेको यस चलचित्रमा फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स र पल जिश्लर, ब्राजिलबाट तातियाना लेइते तथा लेओनार्दो मेक्की र नर्वेबाट भेरोना मेइर स्टोर्म अन्तर्राष्ट्रिय निर्माताको रुपमा छन्।

चलचित्रलाई चलचित्रकर्मी मिन भाम, चलचित्रकर्मी प्रवेश गुरुङ, अभिनेत्री केकी अधिकारि, प्रतीक सुवेदी, प्रतिभा जोशी, सन्तोष भट्टराई, आदित्य बस्ने  र अनोज पौड्यालले निर्माताको रूपमा योगदान दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad