कला


पलेँटीमा गुञ्जिँदै शिवशंकर थापाका गीत

पलेँटीमा गुञ्जिँदै शिवशंकर थापाका गीत

नेपालखबर
जेठ १३, २०८३ बुधबार १३:२३, काठमाडौँ

प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’ सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा आगामी शुक्रबार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति प्रस्तुत हुने भएका छन्।

थापा लामो समयदेखि झापाको विर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द-शिल्पी हुन्। शिवशंकर नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी माझ स्थापित नाम हो।

उनका अधिकांश गीति रचनालाई गायक तथा सङ्गीतकार दीप श्रेष्ठले धुन भरेर गाएका छन्। श्रेष्ठले धुन भरेका गीतहरू ‘भन्थी मेरी उनी’, ‘विधुवाले सिन्दूरको रहर’, ‘म त आकाशको जून हुँ’ र ‘मेरो आँखामा हरदम’ लोकप्रिय छन्।

यससँगै गीतकार थापाले रचेका गीतहरू ‘हावासँगै बगुँ भन्छु’, ‘मेरो रहर ब्यूँझिएर’ र ‘केही ल्याउन सकिनँ’ पनि उत्तिकै लोकप्रिय छन्। जसलाई सङ्गीतकार सुवर्ण लिम्बू र प्रकाश गुरुङले धुन भरेका हुन्।

गीतकार थापाका अनुज पुस्ताका सङ्गीतकार आभासले पनि उनका शब्दमा भरखरै सहकार्य गरेका छन्। ‘म त अक्षरको मान्छे हुँ’ र ‘शिरदेखि पढ या पाउदेखि पढ’ बोलको गीतलाई आभासले पहिलोपटक मञ्चमा प्रस्तुत गर्नेछन्। यसका साथै कार्यक्रममा सङ्गीतकारहरू बलराम समाल, युवराज पोर्तेल, मणी बर्देवाले धुन भरेका रचना पनि प्रस्तुत हुनेछन्।

यसपालीको पलेँटीमा अभिज्ञा घिमिरे र रुपक चौधरीले शिवशंकर थापाका सम्पूर्ण रचनालाई प्रस्तुत गर्नेछन्। पलेँटीका निम्ति काठमाडौँ आइपुगेका गीतकार शिवशंकर थापा भन्छन्,  ‘पलेँटीमा सहभागी हुन पहिलेदेखि नै अनुरोध भएको हो। स्वास्थ्यको प्रतिकूलताले गर्दा, बल्ल मौका जुर्‍यो। जीवनको उत्तरार्धमा यस कार्यक्रमसँग जोडिन पाउँदा खुशी लागेको छ। पलेँटीले श्रष्टाहरूलाई मञ्चमा उतारेर उच्चतम सम्मान गर्दै आएको छ। यो लहरमा मिसिन पाएँस आभारी छु।’ 

यसपालीको कार्यक्रमबारे पलेँटीका संयोजक आभासको भन्छन्, ‘सानै उमेरदेखि म शिवदाइका शब्दको फ्यान हुँ। उहाँसँग तीन दशक पहिले नै साङ्गीतिक सङ्गत गरेको अनुभव समेत छ मसँग। त्यसलाई पलेँटीमार्फत् ताजा गराउन पाएकोमा औधी खुशी लागेको छ।’

पलेँटी कार्यक्रम यही मे महिनाको अन्तिम शुक्रबारस २९ तारिखका दिन आयोजना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad