रास्वपा सांसद रीमा विश्वकर्माले संसद्मा कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले स्थापना गरेको स्टलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को पोस्टर नराखिएको विषय उठाएकी छन्।
फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी प्राइज जितेको फिल्मको पोस्टर नराखिएको भन्दै आलोचना भइरहेको बेलामा विश्वकर्माले यो विषय उठाएकी हुन्। प्रतिनिधि सभाको आजको बैठकमा ‘चलचित्र विधेयक २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै उनले कान्सको प्रसंग निकालिन्।
‘कान्स फिल्म फेस्टिभलमा सूचना र सञ्चार मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले एउटा आधिकारिक स्टल राखेको थियो। जुन आधिकारिक स्टलमा यो वर्ष छनोटमा परेको नेपाली चलचित्र, जो अहिले जितेर आएको छ एलिफेन्ट्स इन द फगको पोस्टर समेत राखिएको थिएन। अब यसले हाम्रो तयारी कस्तो फितलो थियो भन्ने पुष्टि गर्छ,’ विश्वकर्माले भनिन्।
अन्तर्राष्ट्रिय मञ्चमा सिनेमा, संगीत र साहित्यले सांस्कृतिक कूटनीतिक सुधारको अवसर पनि दिइरहेको उनले बताइन्। उनले संसद्बाट विधेयक पारित भएपछि यसको कार्यान्वयन एक वर्षभित्रै हुनुपर्नेमा जोड दिइन्।
‘म नै जनप्रतिनिधि बनेर आएको बेलामा चलचित्र विधेयकको सैद्धान्तिक छलफल भएको छ। चिन्ता के छ भने यो विधेयक पारित भएपछि नियमावली बन्न कति समय लाग्ने हो? विधेयक पारित भए लगत्तै यसै वर्षभित्र कार्यान्वयन हुने बनाइयोस्,’ उनले भनिन्।
Shares

प्रतिक्रिया