कला


९० वर्षीय शिवबहादुरले ल्याए ‘कृषि विकासका योजना’

९० वर्षीय शिवबहादुरले ल्याए ‘कृषि विकासका योजना’

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १३:२१, काठमाडौँ

पहिलो पुस्ताको बागवानीविद् ९० वर्षीय शिवबहादुर नेपाली प्रधानको ‘प्लानिङ फर एग्रिकल्चर डेभलपमेन्ट’ अर्थात कृषि विकासका लागि योजना पुस्तक प्रकाशित भएको छ।

पहाडी क्षेत्रको कृषि विकासलाई ध्यानमा राखेर पारिवारिक खेती प्रणालीबारे पुस्तकमा समेटिएको उनले बताए। ‘पारिवारिक खेती भन्नाले त्यस्तो कृषि प्रणाली हो जसको व्यवस्थापन गर्न मुख्यतः परिवारका सदस्यहरू नै श्रमिकका रुपमा खटिएको हुन्छन्’ प्रधानले भने, ‘हामीले धेरै पहिलादेखि पारिवारिक खेती वर्ष मनाइरहे पनि यसको मूल तत्वलाई बिर्सेको सन्दर्भमा पुरानो दस्तावेजलाई पुस्तकका रुपमा प्रस्तुत गर्दा उपयोगी होला भन्ने लागेको छ ।’

संयुक्त राष्ट्रसंघ र खाद्य तथा कृषि संगठनले सन् २०१४ लाई ‘अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष’का रूपमा मनाउने घोषणा गर्दा यसको मुख्य उद्देश्य पारिवारिक खेतीलाई राष्ट्रिय नीतिहरूको केन्द्रमा ल्याउनु र साना किसानका चुनौतीलाई सम्बोधन गर्नु रहेको प्रधानले जनाएका छन्। आफूले सन् १९८१ मा बेलायतको रिडिङ विश्वविद्यालयमा छँदा गरेको अध्ययनलाई पुस्तकको रुप दिएको उनले बताए।

उक्त अध्ययन ‘पहाडी क्षेत्रमा कृषि उत्पादनको प्रवलीकरणः पारिवारिक दृष्टिकोण’ शीर्षकमा केन्द्रित थियो, जसले विशेष गरी नेपालका पहाडी भेगका साना किसानहरूको समस्या र दुई वयस्क तथा दुई–तीन जना नाबालक भएको एउटा सामान्य परिवारको जीवनस्तर सुधार गर्ने चुनौतीहरूमा आधारित थियो। ‘सन् २०१४ मा संयुक्तराष्ट्र संघले अघि सारेको पारिवारिक खेतीको परिभाषा र मैले सन् १९८१ मा परिकल्पना गरेको घरेलु प्रणाली ठ्याक्कै एकै छन्,’ उननी भन्छन्।

पुस्तकमा सीमित स्रोत र साधनका बाबजुद पनि पहाडी क्षेत्रको निर्वाहमुखी अर्थतन्त्रलाई सुधार्न सुझाइएको उपायमा स्थानीय स्रोतको अधिकतम उपयोग गर्न सिँचाइमा सुधार, गरा सुधार, उन्नत बीउ, कम्पोस्ट मलको प्रयोग र उन्नत पशुपालनमार्फत उत्पादन बढाउन सकिने उपाय सुझाइएको छ। खानेपानीको व्यवस्था र पशुहरूलाई गोठमै बाँधेर पाल्ने चलनले घरायसी श्रमको बचत भई श्रम उत्पादकत्व बढ्ने देखिन्छ। साथै, गैरकृषि रोजगारीले थप आम्दानी दिने पनि पुस्तकमा सुझाइएको छ।

पहाडी कृषि र पारिवारिक खेतीको विकासका लागि दीर्घकालीन योजना, जनशक्तिमा लगानी र उत्पादित वस्तुको सुनिश्चित बजार व्यवस्थापन अपरिहार्य रहेको प्रधानको निचोड छ।

कृषिविज्ञ प्रधानको यसअघि ‘कृषिमा मेरो बाटो’ आत्मसंस्करण र ‘नेपाल कन्सियस सोसल अर्डर’ कृति पनि प्रकाशित छन्। जसमा विकासमा समस्या र सम्भावित उपाय सुझाइएको छ। उनको ‘५ः२५’ शीर्षकको संस्मरण पनि प्रकाशित भएको छ, जसमा उनले उनको पत्नी गौरीरानी प्रधानसँगको संस्मरणलाई उतारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad