कला


दोहामा दोश्रोपटक गुञ्जिँदै नेपथ्य

दोहामा दोश्रोपटक गुञ्जिँदै नेपथ्य

नेपालखबर
साउन २०, २०७६ सोमबार ११:३५,

कतारकाे राजधानी दोहामा आफूलाई दोश्रोपटक प्रस्तुत गर्न लोकरक ब्याण्ड नेपथ्य यही साता कतार जाने भएको छ। इश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अल अदा’को सार्वजनिक विदाका समय त्यहाँ बसोबास गर्दैआएका नेपाली समुदायलाई साँगीतिक कोशेली लिएर ब्याण्ड त्यसतर्फ जान लागेको हो। इदको दोश्रो दिन अर्थात् हाम्रो भेगमा बकरिद भनेर मनाइने चाडलाई नै कतारमा ‘इद अल अदा’ भनिन्छ। 

नेपथ्यले अगस्त १२ सोमबार (साउन २७) बेलुकी सात बजेदेखि दोहास्थित ‘एशियन टाउन एम्पीथिएटर’मा आफुलाई प्रस्तुत गर्नेछ।

 यसभन्दा पहिले सन् २०१४ को सेप्टेम्बर १९ तारिखका दिन ब्याण्डले आफूलाई पहिलोपटक यस भूमिमा उभ्याएको थियो।

नेपथ्य कतारमा आउने भनेर विभिन्न थरिका ‘आयोजक’हरुले हल्ला चलाउँदै र कतिपयले टिकटसमेत बेचेर सोझासाझा दर्शकहरुलाई दुःख दिइरहेको पृष्ठभूमिमा पाँच वर्ष पहिले अचानक ब्याण्ड पुगिदिँदा धेरैले ‘फेरि पनि झुक्याइएको’ ठानिदिएका थिए।

उक्त कन्सर्ट सकेर फर्कँदै गरेका नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई विमानस्थलमा भेट्ने तन्नेरीहरुमध्ये कतिपयले कन्सर्टको बारेमा जानकारी नै नभएको त कतिपयले पहिलेजस्तै झुक्याइएको हुनसक्ने ठानेर नगएको बताएका थिए।

 ‘त्यतिबेलै मैले नेपथ्य फेरि बलियो बन्दोबस्तका साथ त्यस भूमिमा आउनुपर्ने अठोट गरेको थिएँ,’ गायक अमृत सम्झन्छन्, ‘यसपाला फेरि हामीलाई त्यहाँस्थित ब्याण्डका प्रशंसक नेपाली दाजुभाइसँग भेटघाटको अवसर जुराइदिएकामा आयोजकलाई धन्यवाद दिन चाहन्छु।’

 दुइ दसक अघिसम्म पनि कमै नेपालीले नाम सुनेको यो मुलुक यतिबेला हाम्रो समाजका लगभग प्रत्येकजस्तो घरसँग जोडिएको छ। परिवारकै सदस्य नभए पनि कुनै न कुनै आफन्त रोजगारीका लागि यस खाडी राष्ट्रमा नपुगेको कमै नेपाली भेटिन्छन्। असाध्यै तातो हावा चल्ने यस स्थानमा मेहनत गरेर कमाइको पैसा स्वदेश पठाउने परिश्रमी युवाहरुको रेमिट्यान्सले नै यतिबेला हाम्रो मुलुकको अर्थतन्त्र थेगेको छ। आकार र जनसंख्यामा नेपालभन्दा असाध्यै सानो यस मुलुकमै यत्रतत्र भेटिने गरि उल्लेख्य संख्यामा नेपालीहरुको बसोबास छ।

 यसरी मजदुरी गर्नका निम्ति विदेशीएका नेपाली दाजुभाइको भोगाइमै आधारित रहेर नेपथ्यले केहि वर्षअघि ‘मै मरि जाउँला, जीवन छोट्टो छ’ बोलको गीतमा म्यूजिक भिडियो बनाएको थियो। त्यो भिडियो परदेशमा रहेका तन्नेरीले आफ्नी श्रीमतीसँग गरेको संवादका रुपमा ‘कमिक एनिमेसन’को प्रयोगबाट तयार पारिएको थियो। सन् २००८ मा सार्वजनिक भएको यस गीतलाई दुई वर्षअघि म्यूजिक भिडियो बनाएर यु ट्युबमा राखिएपछि अत्यधिक मनपराइएको छ।

1. Nepathya frontman Amrit Gurung in action

 ‘यसरी परदेशमा गएर श्रम गरिरहेका नेपाली दाजुभाइहरुलाई देशको माया बोकेर जान पाउँदा असाध्यै हर्ष लाग्ने गर्छ,’ गायक अमृत भन्छन्, ‘सँधै जस्तै नेपथ्यले नेपाली माटोबाटै उब्जिएको लोकभाकाहरुमा आधारित आफ्ना सिर्जनाहरु मार्फत ती दाजुभाइहरुलाइ मनोरञ्जन गराउने छौं।’

 अघिल्लोपटक नेपथ्य पहिलो प्रस्तुतीका निम्ति दोहा पुग्दा त्यहाँको स्थानीय अवस्था र चालचलनबारे अनभिज्ञताकै कारण पनि कतिपय मुश्किलको सामना गर्नुपरेको ब्याण्डको अनुभव छ। ‘जस्तो कि कतारमा एक दिनको निम्ति मात्र कार्यक्रम स्थल बुक गरिएको थियो र अर्कातर्फ विहान एघार बजेदेखि बेलुकीसम्मै गर्मीले गर्दा त्यहाँ काम गर्न सरकारले अनिवार्य रोक लगाएको अवस्था थियो,’ गायक अमृत अघिल्लो अनुभव सुनाउँदै भन्छन्, ‘यस्तोमा कार्यक्रमस्थलको प्राविधिक परिक्षण र विशेषतः ध्वनी व्यवस्थापनको पर्याप्त तयारी बिनै कन्सर्ट देखाउनुपरेको थियो।’

 यसपटक भने त्यस्ता अनुभवहरुलाई ध्यानमा राखेर तयारी गरिने ब्याण्डले जनाएको छ।

 कतारमा कन्सर्टको आयोजना ‘लेभल एफ एन एडभटाईजिङ एण्ड इभेन्ट’का तर्फबाट लक्ष्मणप्रसाद चौलागाईले गरेका हुन्। आयोजकले त्यस दिनका निम्ति टिकट दर ३५, ५० र एक सय कतारी रियाल तय गरेका छन्।

 ‘श्रोता दर्शकहरुको अपार माया पाएको कतारमा प्रस्तुतीका निम्ति सँधैजस्तै यसपाला हामीले गीतहरु समेत विशेष तवरबाट छनौट गरेका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत भन्छन्, ‘हामी दोहाको प्रस्तुतीलाई अविस्मरणीय बनाउन तत्पर छौं।’

 सँधैजस्तै कतारमा पनि गायक अमृतलाई ब्याण्डका सदस्यहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad