कला


पराजुलीको ‘कोटेश्वरको केटो’लाई एक लाख राशिको पुरस्कार

पराजुलीको ‘कोटेश्वरको केटो’लाई एक लाख राशिको पुरस्कार

नेपालखबर
माघ २७, २०७७ मंगलबार ५:२३,

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतका आधारमा‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको हो।

पराजुली विशेषगरी कथा लेख्न रुचाउँछन्। उनका हालसम्म ‘विकल्प यात्रा’ (२०५०), ‘जाडोमा भोक’ (२०६२), ‘सपनामा माक्र्स’ (२०६८), ‘शुक्रराज शास्त्रीको चस्मा’ (२०७३), ‘अघोरी’ (२०७५) गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन्। एउटा उपन्यास ‘अनायिका’ र कवितासंग्रह ‘भ्रष्ट संवेदना’ तथा संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’समेत गरी उनका आठ वटा कृति प्रकाशित छन्।

पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो। ‘यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ। काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा हो’ कृतिको एक भागमा उनले उनेका छन्।

कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्यो भन्ने सन्दर्भ शोधकर्ताका लागिसमेत एउटा गतिलो विषय बन्न सक्छ। जिन्दगीका साना–मसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ। त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ।

कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’ बाट। अन्य तीन भागमा ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन्। अक्षरहरुसँग पाठमा उनले पत्रकारिताका अनेक तीतामीठा प्रसंग ल्याएका छन्। तीन दशकभन्दा लामो पत्रकारिता गरेका उनले आफ्ना भोगाइलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन्। अक्षरहरुसँग नेपाली पत्रकारिताको सग्लो दृश्य उतार्न सफल छ।

२०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका उनी जसरी नेपाली साहित्यमा स्थापित छन्, उसैगरी पत्रकारितामा पनि सम्मानित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad