कला


साँझहरूको सम्झनामा एक साँझ

साँझहरूको सम्झनामा एक साँझ

नवीन प्यासी
भदौ २१, २०७६ शनिबार ६:१५,

चराहरू
आकाशको शून्यता पन्छाउँदै जान्छन्
जीवनका गीतहरू आफैंभित्र समेट्दै जान्छन्
बुढो रूख
भोलि बिहानको घामले बोकेर ल्याउने
आफ्नो आकृति कुरेर सुस्ताउँछ
बाटोहरू
पैतालाको कुल्चाइ नपाएर छट्पटिँदै जान्छन्
फूलहरू
सौन्दर्यको साँघु¥याइले निस्सासिन्छन्

हरेक साँझ
यसरी आफैंभित्र उकुसमुकुस भएर रहन्छ

यही क्षण
म खुब रमाइलो मान्छु
गिलासहरू रित्याउँदै जान्छु
हरेक रित्याइमा
समयले बनाएको घाउ कोट्याउँदै जान्छु
रगताम्य हुँदै जान्छु
आँसुमय हुँदै जान्छु
यही समय घाम अँध्यारो छाडिराखेर जान्छ
मलाई आफू उध्रिन सजिलो बनाइराखेर जान्छ

एउटा समय
यसरी मलाई झनै उधार्न तयार भएर आइदिन्छ
मलाई उधार्दै गइदिन्छ

यही क्षण
म आयुको एक–एक टुक्राको बिदाइमा
रोमाञ्चित भइरहन्छु
मधुरो बत्तीमा बाटो भुलेका पुतलीहरू झैं
आफ्नै मृत्युको सम्बोधनमा गीत गाइरहेको राजहाँस झैं
आफ्नै टुक्राइहरूमा बजेको सिसाको उपहार झैं
रोमाञ्चित भइरहन्छु

कम्पास पानीमा डुबेर
दिशाहीन भएको डुंगा जसरी
कति साँझहरू
आफ्नै जिन्दगीलाई बिर्सेर बाँचिरहन्छु
आफैंलाई कतै राखिछाडेर बाँचिरहन्छु

यसरी हरेक साँझ
मेरो एक–एक टुक्रा आयु लिएर अस्ताउँछ
म भने उसैलाई अत्यधिक सुन्दर देख्छु
र प्रेम गर्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad