गण्डकी


एकै ठाउँका दुई दम्पती नै विमान दुर्घटनामा : शोकमा डुब्यो पोखराको हेमजा

एकै ठाउँका दुई दम्पती नै विमान दुर्घटनामा : शोकमा डुब्यो पोखराको हेमजा

पोखरामा दुर्घटना भएको यति एयरलायन्सको क्षतिग्रस्त जहाज। तस्बिरः राधिका कँडेल/रासस


वासुदेव पौडेल
माघ १, २०७९ आइतबार १९:३४, गण्डकी

पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो। एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन। 

अमेरिकाबाट शनिबार काठमाडौँ झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन्। माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पती यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै थियो। पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पती नै दुर्घटनामा पर्‍यो। 

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो। बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ। सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस भएकी छन्। उनका छरछिमेक सबैका आँखा रसाएका छन्। 

डीभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गर्त वर्ष बिहे गर्न पोखरा आएका थिए। गत वर्ष माघको १९ गते विवाह गरेका सापकोटा पुनःअमेरिका फर्की शनिबार मात्रै नेपाल आएका हुन्। उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव (ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आएका हुन्। 

‘दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ’, उनले भने।

उता दुर्घटनाले आशिकाका माइती पनि शोकमा छन्।

सापकोटासँगै हेमजाकै जितेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दुर्घटनामा परेका छन्। घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका उनीहरुले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाएका थिए।

जहाज दुर्घटनामा हेमजाकै चार/चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad