ad ad

गण्डकी


अब पोखराको न्यूरोडमा सटल बस

अब पोखराको न्यूरोडमा सटल बस

नेपालखबर
माघ २३, २०७९ सोमबार २१:४६, पोखरा

पोखरामा नगरबस चल्छन्। जहाँ यात्रु देख्यो त्यहीँ घ्याच्च रोक्ने, जहाँ झर्छु भन्यो, त्यहीँ झारिदिने नगरबसको विशेषता हो। तोकिएको स्टेसनमा रोकेर बस्ने र अर्को आएपछि मात्र त्यहाँबाट हिँड्ने।  

अर्को स्टेसनमा पनि त्यसै गर्ने यी बसहरु यति ढिला छन् कि छोरेपाटनबाट बगर जान एकघण्टा जति समय छुट्टयाउनुपर्छ। साँझ परेपछि भने यी सवारी गुड्दैनन्। सार्वजनिक यातायात भरपर्दो नभएकाले नै कजेल पढ्ने विद्यार्थीहरु बाध्य भए दुईपांग्रे किन्न बाध्य बनेका छन्।

त्यसो त पोखराको न्यूरोड सिर्जेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको बुझाइ पनि विश्वविद्यालयसम्म छिटो र सरल बाटो हुनुपर्छ भन्ने नै थियो। उनी पृथ्वीचोकबाट बगरसम्म सोझो र फराकिलो बाटो बनाउन चाहन्थे तर स्थानीयको अवरोधले त्यो सम्भव भएन।

‘कम्तिमा विश्वविद्यालयसम्म त छिटो र छरितो सार्वजनिक यातायात चल्नुपर्ने हो,’सहरी विकासका ज्ञाता डा. वेतमानसिंह भण्डारीले भनेका थिए,‘यहाँ त कलेज जानै सकस हुन्छ।’

विदेशतिर मुख्य सहरी क्षेत्रबाट विश्वविद्यालय, एयरपोर्टलगायतका पर्यटकीय केन्द्रमा ‘सटल बस’ चल्छन्। निश्चित ठाउँबाट छुट्ने ती बसहरु तोकिएको निश्चित बिन्दुमा गएर अडिन्छ र त्यहाँबाट फर्कन्छन्। कतिपय सटल बसको भने रोकिने बहुविन्दु पनि हुन्छ।

सटल बस भनेको अहिले बहुतले भवन वा सपिङ मलमा राखिएको लिफ्टको रुपमा बुझ्दा पनि हुने मेयर आचार्यले बताए। विदेशतिर यस्ता बसहरु सशुल्क र निशुल्क दुवै खालका हुन्छन्। पर्यटनमन्त्री प्रेम आलेको पालामा काठमाडौं एयरपोर्टबाट निःशुल्क सटल बस सेवा संचालन गरिएको थियो। 

त्यसकै सिको गर्दै मेयर आचार्यले पोखराको न्यूरोड क्षेत्रमा ‘सटल बस’ चलाउने घोषणा गरेका छन्। उनका अनुसार बिस्तारै र नियमित चल्ने सटल बस सेवा पोखराको न्यूरोडबाट सुरु गर्ने योजना बुनिएको छ।

‘यातायात व्यवसायीहरुसँगको सहकार्यमै सशुल्क सटल बस चलाउने योजना हो,’मेयर आचार्यले भने,‘बिस्तारै हिँड्ने यो सटल बसले निश्चित ठाउँमा  यात्रुलाई ओराल्ने र चढाउने गर्छ, मुख्य व्यापारिक क्षेत्रमा यो चलिरहन्छ,कतिवटा चलाउने भन्ने निक्र्योल हुन बाँकी छ।’

सटल बस चलेपछि पोखराको मुख्य व्यापारिक क्षेत्रमा किनमेलको लागि आउनेहरुलाई सहजता हुने उनले जिकिर गरे। 
 
 सडकमा पार्किङ गर्ने दिन गए : मेयर आचार्य 
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अब सडकमा पार्किङ गर्ने दिन सकिएको बताएका छन्।

पोखराको न्यूरोडमा रहेको पुरानो पूर्णिमा हलको खाली जग्गामा सशुल्क पार्किङस्थलको सुरुवात गर्दै सोमबार उनले सो घोषणा गरेका हुन्। मेयर आचार्यले सडक सवारीकै लागि भएकोमा जोड दिँदै पार्किङकै कारण हुने सडक दुर्घटना तथा अव्यवस्था अन्त्य गर्न यो व्यवस्था लागू गरिएको जिकिर पनि गरे। 

‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकलाई अब हामी टेन्डर गर्दैनौँ,’उनले भने,‘ यसको अर्थ के हो भने, अब सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै सकिए भन्ने बुझ्नपर्छ।’

पोखरा महानगरले सोमबारबाटै पोखराको न्यूरोड,चिप्लेढुंगा,महेन्द्रपुल,नयाँबजार र पृथ्वीचोक क्षेत्रलाई पार्किङ निषेधित गर्ने घोषणा गरेको थियो। तर,पोखरा उद्योग वाणिज्य संघसहित यातायातसँग जोडिएका केही संस्थाले विकल्प माग्दै विरोध गरेपछि सो योजना आइतबारमात्रै स्थगित भएको थियो।

मेयर आचार्यले निषेधित क्षेत्र तोकिएको क्षेत्रमा सवारी व्यवस्थापनको तयारी नपुगेकाले मात्र यो अभियान स्थगनमा परेको उनले जिकिर पनि गरे। मेयर आचार्यका अनुसार घोषित निषेधित क्षेत्रमा दैनिक २५० गाडी र ३५० मोटरसाइकलहरू पार्किङ गरेको पाइएको छ।

‘महानगरपालिकाले पार्किङका लागि व्यवस्थापन गरेका स्थानहरूमा ५ सय बढी साना सवारीहरू र ४ सयभन्दा बढी मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गर्न सक्ने क्षमता छ,’,उनले भने,‘ सरोकारवालाहरुसँगको छलफलपछि कुनै पेसा व्यवसाय र वर्गलाई असर नपर्ने गरी पार्किङ व्यवस्थापन हुन्छ।’

उनका अनुसार पोखरा महानगर क्षेत्रमा बनेका भवनहरूको भूमिगत पार्किङ स्थल,मुख्य सडकको दायाँबायाँ रहेका खाली जग्गाहरूलाई समेत सम्बन्धित जग्गाधनीहरुसँगको समन्वय तथा सहकार्यमा नियमानुसार शुल्क लिने गरी पार्किङकै लागि उपयोग गर्न लागिएको उनको भनाइ छ।  

‘हामीले निजी क्षेत्रलाई नै पार्किङको जिम्मा दिन लागेको हो, महानगरले सडकलाई सुरक्षित बनाउँछ, सडकको शुल्क उठाउँदैन,’,उनले भने,‘अब अरु पसलजस्तै निजी क्षेत्रले पार्किङ पसल खोल्छन्।’

महानगरले निजी पार्किङ पसलमा मोटरसाइकल र स्कुटरको प्रतिघण्टा १० र कार र जिपको प्रतिघण्टा ५० रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरिदिएको छ। मेयर आचार्यले अर्को व्यवस्था नभएसम्म पोखरा सभागृह र पोखरा प्रदर्शनी केन्द्रमा निःशुल्क पार्किङको व्यवस्था गरिएको जानकारी पनि दिए।

‘सडकमा भइरहेको पार्किङको उपयुक्त विकल्प महानगरसँग छ, सडकमा जतिको संख्यामा सवारीसाधानहरु पार्किङ गरिएका छन्, त्यसको दोब्बर क्षमता महानगरले व्यवस्था गरेका स्थानमा छ, प्रमुख आचार्यले भने,‘ तत्काल पार्किङ हटाउँदा व्यापार व्यवसायमा असर पर्छ कि भन्ने व्यवसायी साथीहरूको जुन किसिमको बुझाई, तर त्यसो हुँदैन।’

मेयर आचार्यले २७ ठाउँमा पार्किङ केन्द्र तोकिएको पनि बताए। सो अवसरमा बोल्दै  महानगरमा एमाले संसदीय दलकी नेता राधिका शाही योगीले सडक हैन,तोकिएको ठाउँमा पार्किङ गर्न आग्रह गरिन्।

पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले अभियान सुन्दर पोखराको लागि भएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .