गण्डकी


पोखरालाई दीगो पर्यटनका लागि ४ अर्ब ५० करोडका योजना

पोखरालाई दीगो पर्यटनका लागि ४ अर्ब ५० करोडका योजना

नेपालखबर
माघ ३, २०८० बुधबार १९:५१, पोखरा

नेपाल सरकार र एशियाली विकास बैंक (एडिबी) बीच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।  

अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र एशियाली विकास बैंकका नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरेका हुन्।

जसमध्ये दीगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे ४ अर्ब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

सहरी विकास मन्त्रालयमा भएको दीगो पर्यटन विकासका परियोजनासँग सम्बन्धित सम्झौतामा परियोजना प्रमुख रोशनकुमार श्रेष्ठ र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले हस्ताक्षर गरेका छन्।

परियोजनाअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्रयाक निर्माण, पञ्चासे क्षेत्र विकास परियोजना, ७ ताल जोड्ने साइकल ट्रेल, बोटानिकल गार्डेन, लेखनाथ क्षेत्रमा विपद् व्यवस्थापन युनिट स्थापना तथा सञ्चालन, फिर्के कोरिडोर निर्माणलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित परियोजनाहरू रहेका छन्।

परियोजनाले पोखराको समग्र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने प्रमुख आचार्यले बताए।

‘दीगो पर्यटन विकास तथा जीवन सुधारसम्बन्धी परियोजनाको सम्झौता समग्र पोखराको विकास र पर्यटकीय राजधानी घोषणाका लागि कोषे ढुङ्गा साबित हुनेछ,’उनले भने।  

महानगरपालिकाको तर्फबाट परियोजना कार्यान्वयनका लागि छुट्टै प्रोजेक्ट अफिस स्थापना गरी आवश्यक कर्मचारीहरूको व्यवस्थापन गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए।

परियोजना सञ्चालनमा नगर विकास कोष साझेदारका रूपमा रहने छ। यसअन्तर्गत १५ वटा विभिन्न परियोजनाहरू सम्पन्न गर्न कुल लागत ७ अर्ब ५० करोड अनुमान गरिएको भए पनि पहिलो चरणमा  ४ अर्ब ५० करोड बराबरको सम्झौता भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .